arrow

सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन छायाँनाथ राराले शिक्षा क्षेत्र योजना बनाउँदै

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
chayanathrara-education.jpg

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा शिक्षामा सुधार ल्याउन दश वर्षीय शिक्षा योजना बनाउन थालेको छ । गुणस्तरीय शिक्षा,शैक्षिक क्षेत्रको विकासको लागि छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालेको हो ।

छायाँनाथ रारा नगरपालिकामा ४५ वटा सामुदायिक विद्यालय ४१ वटा प्रारम्भिक बालविकास केन्द्र र  ५ वटा समुदायमा आधारित गरी ४६ वटा र ४ वटा संस्थागत विद्यालय छन् ।  

नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिक अवस्था खस्कदो अवस्थालाई मध्यनजर गदै छायाँनाथ रारा नगरपालिकाले शिक्षामा सुधार ल्याउन शिक्षा क्षेत्रको योजना बनाइ कार्यान्वयन गर्न लागेको  छ । 

छायाँनाथ रारा नगरपालिकाले आगामी दश वर्षभित्र सबै नागरिकलाई शिक्षामा पहुँचको अवसर प्रदान गरी, समतामुलक समावेशिताका आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यसहित सिकाइमैत्री वातावरण निर्माण गरी व्यावसायिक, सीपमूलक र प्रविधिमूलक शिक्षामा जोड दिने र आधारभूत तहको शिक्षालाई, निःशुल्क, अनिवार्य, बालमैत्री, समावेशी तथा शिक्षामा पहुँच सुनिश्चित गर्ने योजनाका साथ छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए । 

शिक्षा योजना निर्माणका लागि नगरपालिकाभित्रका विज्ञ सरोकारवालाहरु, शिक्षकहरुको सहभागितामा सुझाव संकलन गरी शिक्षा योजना निर्माण गर्न गत सोमबारदेखि तीन दिनसम्म छलफल, अन्तरकृया, नमूना योजना निर्माण थालिएको थियो ।

प्रराम्भिक बालविकास, आधारभूत शिक्षा, माध्यमिक शिक्षालगायत अन्य शिक्षा क्षेत्रको विकासका लागि शिक्षा योजना अनिवार्य भएकाले छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालेको नगर प्रमुख भामको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिकाका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय लेखन समिति गठन गरिएको र लेखन समितिले आगामी तीन हप्ताभित्र सरोकारवाला निकायको राय सुझावका आधारमा छाायाँनाथ रारा नगपालिकाको शिक्षा योजना निर्माण गर्ने जनाइएको छ ।

छायाँनाथ रारा नगरपालिकाको शिक्षा योजना निर्माणपछि एक औपचारिक कार्यक्रमबीच बाँकी विविध विषयमा छलफल गरी पूर्णता दिने र त्यसपछि शिक्षा योजना कार्यपालिकाबाट अनुमोदन गरी छायाँनाथ रारा नगरपालिकामा लागू गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए । 

छायाँनाथ रारा नगरपालिकाको शिक्षा क्षेत्र योजना निर्माणका लागि युनिसेफ नेपालको आर्थिक र  समाज जागरण केन्द्र (स्याक नेपाल) को प्राविधिक सहयोगमा शिक्षा योजना निमार्ण गर्न लागिएको हो ।

शिक्षा योजना निमार्णका लागि युनिसेफ नेपालका शिक्षा अधिकृत फर्शुराम पन्थ र समाज जागरण केन्द्र स्याक नेपालका एसईएसपी संयोजक हरिभक्त्त तिवारीले छायाँनाथ रारा नगरपालिकाको शिक्षा योजना निर्माणमा सहजीकरण गरेका थिए ।

विद्यालय शिक्षा सुधारका लागि विभिन्न क्षेत्रको सुधार गर्न ११ वटा क्षेत्र तोकेर सोहीअनुसार विभिन्न समितिहरु बनाइ ती क्षेत्रहरुको हालको अवस्था, चुनौती, उद्धेश्य, रणनीति र १० भित्रमा कुन कुन सूचक कति कति एकाइमा नगरपालिकाले पूरा गर्ने भनेर समितिहरुले घनिभूत रुपमा छलफल र स्रोत खोजीनीति गर्दै प्राविधिक सहयोग कार्यशालामा नमूना क्षेत्र सुधार योजना तयार पारी प्रस्तुत गरेको समाज जागरण नेपाल (स्याक–नेपाल) का  शिक्षा अधिकृत नरेन्द्र रावलले बताए । 

विगत वर्षहरुमा छायाँनाथ रारा नगरपालिकामा बिना योजना शिक्षा क्षेत्र सुधारका कार्यक्रम, योजना संचालन हुँदै आए पनि अबदेखि भने नगर शिक्षा क्षेत्र योजनाले लिएको लक्ष्य पूरा गर्ने गरी शिक्षाका गतिविधि, योजना, कार्यक्रम कार्यान्वयन गरिने छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऎश्वर्या मल्लले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ