हामीले पहिला ढुकुटीपार्टी शुरु गर्दा खुबै मज्जा भएको थियो। हामी विस्तारै त्यही पार्टीमा रमाउन थाल्यौँ । ढुकुटी खेलेको करिब करिब एक तलामाथि पुगेपछि हामीलाई लाग्यो अब ढुकुटी खाएर लापत्ता हुनु पर्छ।
सोच विचार गरेर नै त्यहाँबाट निस्कियौं। केही वर्षसम्म त ढुकुटीका सदस्यहरु केही हात लाग्छ कि भनेर लागिपरेको पनि थाहा छ। हाम्रो खेदो गरेनन् । त्यसैले हामीलाई लाग्यो यो सफल भएछ भनेर नै खुब मोजमस्ती र रमाइलोसँग जिन्दगी चलायौँ ।
कुन दिन कुन बेइमानले हामीले पचाइदिएको ढुकुटीको रकम खोज्न थालेछ भन्ने थाहा पाउँदा निकै ढिलो भएको थियो भन्ने हाम्रो बुझाइ हो । अलि बेलैमा खोजी गरिदिएको भए पनि थोरबहुत ढुकुटी फिर्ता गर्न पनि सकिन्थ्यो ।
सबै पचाइसकेपछि खोजेर हाम्रो निकै मानमर्दन भयो भन्ने मात्र हाम्रो चिन्ताहो । रकम फिर्ता गर्न त हामीसँग रकम हुनु पर्यो नि । यस्तो हुन सक्छ भनेर नै हामीले पहिल्यै ठूलै माहोल तथा समर्थनका लागि आवश्यक जोहो गरिसकेको हुनाले खासै चिन्ता त गरेका थिएनौँ । तर आज हामीलाई अप्ठेरो नै परेको छ। ढुकुटीले सकियो ।
सबैतिरबाट हामी सफा मन भएकालाई ढुकुटी ठग भन्दा त्यो शब्दप्रति हाम्रो घोर आपत्ति रहेको छ। हामी सबैजनालाई त्यस्तो अपशब्द प्रयोग गर्नु हुँदैन भनेर सम्झाउँदै छौँ । तर हामीले भनेको धेरैले नपत्याउँदा दुःख लाग्छ ।
हामीले देश बनाउनका लागि २-३ वर्षसम्म जनताको लागि ठूला आशा देखाएर नै अगाडि बढ्दै थियौँ । तर त्यो ढुकुटीमा ठगिएका जनताले पनि हामीमाथि नै जाइलाग्दा यो देशमा भलो गर्छु भन्नेका लागि काम गर्न अप्ठेरो रहेछ भन्ने लाग्न थालेको छ।
हाम्रो भन्दा ठूलो ढुकुटी खेलाएका अर्का पार्टीलाई त्यति खेदो नगरीकन हामीलाई मात्र विभेदपूर्ण व्यवहार भयो भन्ने मात्र हाम्रो बुझाइ रहेको छ।
ठूला ढुकुटी पचाइदिएकाको भन्दा हाम्रो रकम सानो नै हो । त्यसैले कारबाही गर्ने नै भए ठूलालाई मात्र गर्दा हुन्छ भन्ने पनि लाग्छ । ठूला ढुकुटी खेलाउने,पचाउने पार्टीले सरासर हामीजस्ता सोझा र सफा जस्तै देखिनेलाई फसाउन खोज्दैछन् भनेर हामीले नेपालभरबाट ढुकुटीमा नडुबेका जति सबैलाई आह्वान नै गरिसकेका छौँ ।
हामीलाई अन्याय भयो भन्ने बारेमा ती ढुकुटीबाट नठगिएका जति सबैलाई थाहै छ। ढुकुटीमा नै ठगिएकासँग सोध्दामात्र हाम्रो विरोध गर्छन् नत्र अरु सबै ढुकुटीमा नखेल्नेसँग सोध्दा भैहाल्छ हामी कति राम्रा मानिस हौँ भनेर ।
हामीभन्दा अझै डरलाग्ने कुरा सुन्ने हो भने तपाईं नठगिएका जति सबै जिल्ल पर्नुहुन्छ। तपाईंहरुले भटेनी पार्टीको पनि कुरा सुन्नु भएकै होला त्यहाँ त हाम्रो ढुकुटी पार्टीमा भन्दा ठूलो गोलमाल छ । उनीहरु ठूलो संगठन बनाएर सजिलै गोलमाल गर्छन् । जति नै गोलमाल गरे पनि सबैलै गोलमाल मात्र गर्ने भएकाले त्यहाँ उजुरी पनि खासै पर्दैन ।
र उजुरी भैहाले पनि ठूलो जमात निस्किएर मिलाउँछन् । भटेनी पार्टीको बारेमा बोल्यो भने सिधै झम्टन्छन्, पैसा ठगियो भनेर गुनासो गर्यो भने किन धेरै कमाएको भनेर थर्काउँछन् ।
आफ्नो हिस्सा बाहेक केही थाहा छैन भन्छन् । हामीले गुरुपार्टीबाट सिकेर नै आफू ठगिएको आवाज निकाल्ने दुई चार जनालाई मुक्का लगाइदियौँ तर पनि समस्या समाधान नभएर हामीलाई गाह्रो भएको छ ।
हामीसँग निहुँ खोज्नेलाई तह लगाउनु पर्छ भन्ने हाम्रो माग कायम नै छ । हामी अर्को चुनावसम्ममा शरीरका सबै कपडा खोलेर देखाइदिने विचारमा छौँ । अनि बल्ल सबैले पत्ता लगाउने छन् हामी कस्ता हौँ भनेर । हामीलाई राम्रोसंग जान्नका लागि केही वर्ष अझै धैर्य गर्नुहोस्।
पहिला देशनै परिवारको व्यवसाय सम्झनेहरु आज भूतपार्टी बनेर बसेका छन् र कहिले काहिं तर्साउन पनि खोज्छन्। भुटेनी पार्टीको कुरा पनि सबैलाई थाहैछ त्यहाँ बहुत थोरै मानिस राम्रा छन् र बाँकी सबै ढुकुटी पनि ओके, भटेनी पनि ओके, भुटेनी पनि ओके, उँड्ने पनि ओके, गुड्ने पनि ओके । जताततै ओके अनि मिलेसम्म सबै ठोके।
गुरुपार्टी नै त्यस्तो भएको देश हो, त्यसैले सुधारका लागि गुरु चेला सबै सुध्रनु पर्छ तर त्यो असम्भव जस्तै छ।
अर्को संसारमा असफल भैसकेको सिद्धान्तलाई हाम्रो देशमा लागू गर्नका लागि पार्टी शुरु गरेर पहाडमा दुःख नदिएको कुनै घर बाँकी नराखेको सुनेपार्टीले पनि आफ्नो परिचय दिएर गयो।
एक पटक कसरी हो माथि चुचुरोमा नै पुगेर शरीरको सबै कपडा खोलेर आफ्नो परिचय दिएर गयो । उनीहरुका कारणले पीडा नपाएका केही दर्जन मानिस, केही दर्जन सुनको चुरोट पिउनेहरु, केही दर्जन सुन लगाउन पाएका बाहेक अब केका लागि तिनको समर्थन गर्ने ? उक्त पार्टीमा रहेर ठूलेहरुको सुरक्षाका लागि बन्दुक र भाला बोक्नेहरु आज मरुभूमिमा भेँडा र आफ्नो लागि पिउने पानी खोज्दैछन् ।
भूतपार्टीले पनि केही गर्दैन भन्ने प्रमाणित गरेर छोडेको दशकौँ भैसक्यो । अब कतैबाट केही हुने देखिँदैन । युवा जति विदेशमा बेचिए, कोही नेपाल फर्कन चाहँदैनन् । बुढाखाडाले बिहानैदेखि बाटोमा थुक्ने खकार्ने र जन्मभूमि दुसित गर्ने पाप कर्म बाहेक केही पनि गर्दैनन् ।
अनि को आएर हाम्रो देश बनाई दिने ? लगभग ३० वर्ष पश्चात एक जना नयाँ बालबच्चा जन्मनका लागि कयौँ पटक सोच्नेछन् । जनसंख्या निकै घट्ने छ । बाटोमा थुक्ने, खकार्ने, फोहर फाल्ने जमात मात्र केही बाँकी रहनेछ । अरु कुरा त्यस्तै हो । सकियो। सकियो नै।