arrow

साफ महिला च्याम्पियनशिपको फाइनल खेल काठमाडौँ महानगरले तीन ठाउँमा एलईडी स्क्रिनबाट देखाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
kathmandu-metro-kamaladi-81.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनशिपको आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल निःशुल्क देखाउने व्यवस्था गरेको छ ।

महानगरले फाइनल खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन रहेकोले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ) मा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।

साँझ ६ः३० बजे खेल शुरु
महिला साफ च्याम्पियनशिप फुटबलको सातौँ संस्करणको उपाधि छिनोफानो आज हुँदैछ । साँझ नेपाल र बंगलादेशबीच उपाधि छिनोफानो हुन लागेको हो । साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा शुरु हुने फाइनल खेल हेर्नका लागि दर्शकहरुले बिहानैदेखि उपत्यकाका तीन ठाउँबाट टिकट किनिरहेका छन् । 

उक्त फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली फाइनल खेल हेर्न र खेलपछि पुरस्कार वितरण कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ । 

मन्त्री, सांसद र दलका नेताहरुसमेत खेल हेर्न जाने एन्फाले जनाएको छ ।  

यो फाइनल छैटौँ संस्करणको पुनरावृत्तिसमेत हो । छैटौँ संस्करणमा दशरथ रंगशालामै नेपाल र बैंगलादेश नै भिडेका थिए । त्यतिबेला बंगलादेश ३–१ ले सहजै विजयी भएको थियो । बंगलादेशले अहिलेसम्म एउटा उपाधि जितेको छ । नेपालले एउटा उपाधि पनि जितेको छैन । 

नेपाल छैटौँ पटक फाइनलमा पुगेको छ । तनावपूर्ण सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । छैटौँ संस्करणमा पनि नेपालले भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो । 

त्यस्तै बंगलादेशले सेमिफाइनलमा भुटानलाई ७–१ ले हराएर फाइनलमा ठाउँ बनाएको हो । छैटौँ संस्करणमा पनि बंगलादेशले भुटानलाई नै हराएर फाइनलमा पुगेको थियो । 

यता दुवै टिमका कप्तानले उपाधि आफूले नै जित्ने दाबी गरेका छन् । दशरथ रंगशालामा नेपालले १२ औँ खेलाडीका रुपमा अथाह दर्शकको माया पाउने छ भने बंगलादेशले त्यो अवसर पाउने छैन । 

टिकटमा नयाँ व्यवस्था
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनल खेलको टिकट बिक्रीका लागि नयाँ व्यवस्था गरेको छ । एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो ।

१५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ । टिकट आज बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट बिक्री भइरहेको छ । 

एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट बिक्री गर्ने जनाएको छ । एन्फाले एक व्यक्तिलाई भीआईपी तर्फको २ र साधारण तर्फको ५ टिकटमात्र किन्न पाउने बताएको छ ।

एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ । साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ ।

रंगशालामा भीआईपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ । 

यी वस्तु रंगशालाभित्र लैजान मनाही

एन्फाले फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ । कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा भएको घटनाक्रमपछि एन्फाले सुरक्षामा विशेष ध्यान दिने बताएको हो  ।

एन्फाले आज हुने फाइनल खेल गर्न जाने दर्शकले दशरथ रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको जानकारी दिएको छ ।

त्यस्तै अनुमति बिना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा, सिक्का कुनै पनि प्रकारका लागुऔषध, छाता, लिपस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको एन्फाले जनाएको छ ।

करियरमा १२ औँ अन्तर्राष्ट्रिय फाइनल, खोजी मेडन उपाधिको
 नेपाली पुरुष टिमले सन् १९८१ मा अन्तर्राष्ट्रिय फुटबल खेल्ने मान्यता पाएकामा महिला टिमले भने सन् १९८६ देखिमात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । 

यो ३८ वर्षको अवधिमा नेपाल आजको फाइनलसमेत गरेर १२ पटक फाइनलमा पुगेको छ । यसअघिका ११ औँ फाइनलमा पुगेर नेपाल उपविजेतामा सीमित हुँदै आएको छ । साफमा मात्र यो पटकसमेत गरेर ६ पटक फाइनलमा पुगेको छ । 

यसअघिका पाँचै संस्करणमा नेपाल उपविजेतामा सीमित भयो । चार पटक त नेपाललाई फाइनलमा भारतले हराएको थियो । तर सुखानुभूति चाहिँ के भने गत संस्करण र यो संस्करण गरी लगातार दोस्रो पटक नेपालले सेमिफाइनलमा भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको छ । 

नेपालले तेस्रो पटक साफको आयोजना गरेको हो । यसअघिका दुवै संस्करणमा उपविजेतामा सीमित नेपालले यसपटक हारको डेडलक तोड्ने आशा गरिएको छ । 

हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेदेखि नेपालले थुप्रै अन्तर्राष्ट्रि खेल खेल्यो । तर उपाधिको खडेरी अहिलेसम्म तोडिएको छैन । 

यसअघि पाँच पटक साफ महिला च्याम्पियनशिप, तीन पटक साग गेम्स, एक पटक हिरो कप, एक पटक नादेज्दा कप र एक पटक पश्चिम एसिया विमन्स च्याम्पियनशिप (वाफ) को फाइनल खेलेको थियो । सबैमा हार व्यहोरेको छ । 

११ फाइनल खेल्दा नेपालले सात पटक भारतसँग हारेको छ । त्यस्तै बंगलादेश, म्यानमार, ताजकिस्तान र जोर्डनसँग नेपालले एक–एक पटक फाइनलमा हार बेहोरेको छ । 

यसपालि नेपालले पुरानो हारको निरन्तरता तोडेर नयाँ इतिहास लेखाउनु छ । 



नयाँ