arrow

भैरहवाको विमानस्थल जाने सडकमा रास्वपाका कार्यकर्ताको भीड

logo
नारायण वली, 
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
rsp-karyakarta-bhairahawa-8.jpg

भैरहवा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याइँदैछ । 

उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवल लगिने छ । कम भिजिबिलिटीका कारण यतिको जहाज उड्न अझै सकेको छैन । 

यता उनको रिहाइको माग गर्दै आएका उनका पार्टीका नेता कार्यकर्ताको विमानस्थल जाने सडकमा भीड जम्मा भएको छ ।

भैरहवा ल्याएपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याएर सरकारी वकिलको कार्यालय लगी बयान लिइने छ । 

उनलाई भैरहवा ल्याउने भनेसँगै बिहानैदेखि गौतमबुद्ध विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । तर भिजिबिलिटी कम हुँदा उनलाई जहाजबाट भैरहवा नै ल्याउन सकिएको छैन । अहिले बिहान १०ः१० बजे जहाज अवतरणका लागि आवश्यक भिजिबिलिटी १८ सय मिटर भएसँगै विमानस्थल खुलेको छ ।

भैरहवामा भिजिबिलिटी कम भइरहँदा अहिले हल्का घाम लागेको छ । उनलाई बिहान ७:४५ को उडानमार्फत पोखराबाट रुपन्देही लगिने भनिएको थियो । 

साथै उनलाई सरकारी वकिलको कार्यालयमा बयान सकेर आजै कास्की फर्काउने तयारी छ । यसअघि पूर्वडीआईजी छविलाल जोशीसँग दुई दिन लगाएर बयान लिइएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सो सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । जसमा एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई पत्र पठाएर लामिछानेलाई उपस्थित गराइदिन सहयोग मागेको थियो । 

लामिछाने सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गते साँझ काठमाडौँबाट पक्राउ परेका थिए ।

उनलाई कात्तिक ३ गते बिहान कास्की ल्याइएको हो । उनी सोही दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई पछिल्लो पटक जिल्ला अदालत कास्कीले १३ दिन म्याद थपिदिएको छ ।

लाछिानेसँगै पूर्वडीआइजी जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाल पनि कास्की प्रहरी हिरासतमै छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ