अपडेटः आवश्यक भिजिबिलिटी भएसँगै उड्नै लागेको रविलाई राखिएको जहाज बोडिङमै रोकियो
नारायण वली,
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
863
Shares
अपडेटः एकाएक बोर्डिङबाट उड्लै लाग्दा भिजिबिलिटी कम भएर विमानस्थल बन्द गर्नु परेपछि विमान नउडी रोकिएको छ ।
भैरहवा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याइँदैछ ।
उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बयानस्थल लगिने छ । कम भिजिबिलिटीका कारण बिहानदेखि उड्न नसकेको जहाज आवश्यक भिजिबिलिटी पुगेसँगै पोखराबाट जहाज उड्न लागेको थियो ।
रविलाई लिएको जहाज बोर्डिङ भैसकेको भए पनि एकाएक भिजिबिलिटी घटेपछि रोकिएको छ । पहिले यति एयरलाइन्सको जहाजमा आउने भनिए पनि ढिला हुने भएपछि बुद्ध एयरमा राखिएको थियो ।
तर बुद्धको विमान बोर्डिङ भएपछिसमेत उड्न नसकेपछि अब यतिमै जाने तयारी भइरहेको छ ।
भैरहवा ल्याएपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याएर सरकारी वकिलको कार्यालय लगी बयान लिइने छ ।
यता उनको रिहाइको माग गर्दै आएका उनका पार्टीका नेता कार्यकर्ताको विमानस्थल जाने सडकमा भीड जम्मा भएको छ । रास्वपाले बुटवलमा विरोध प्रदर्शन गर्दै गर्दा भैरहवा विमानस्थलमै पुगेका हुन् ।
भिडियो लिन र तस्बिर खिच्न आतुर संचारकर्मीलाई भने गौतमबुद्ध विमानस्थलमा प्रवेश दिइएको छैन । हर प्रयास गर्दा पनि सुरक्षा घेरा बनाएर संचारकर्मीलाई रोकिएको हो ।
उनलाई बिहान ७:४५ को उडानमार्फत पोखराबाट रुपन्देही लगिने भनिएको थियो ।
साथै उनलाई सरकारी वकिलको कार्यालयमा बयान सकेर आजै कास्की फर्काउने तयारी छ । यसअघि पूर्वडीआईजी छविलाल जोशीसँग दुई दिन लगाएर बयान लिइएको थियो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सो सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । जसमा एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई पत्र पठाएर लामिछानेलाई उपस्थित गराइदिन सहयोग मागेको थियो ।
लामिछाने सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गते साँझ काठमाडौँबाट पक्राउ परेका थिए ।
उनलाई कात्तिक ३ गते बिहान कास्की ल्याइएको हो । उनी सोही दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई पछिल्लो पटक जिल्ला अदालत कास्कीले १३ दिन म्याद थपिदिएको छ ।
लाछिानेसँगै पूर्वडीआइजी जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाल पनि कास्की प्रहरी हिरासतमै छन् ।
यसैबीच सभापति लामिछानेलाई रुपन्देही ल्याउँदै गर्दा रास्वपाले भैरहवामा प्रदर्शन गर्ने तयारी गरेको छ । सबै कार्यकर्तालाई बिहान ११ बजे भेला भइसक्न निर्देशन दिइएको थियो ।
रास्वपाको आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ ।