arrow

सहकारी ठगीमा रवि लामिछानेसँग रुपन्देहीमा आज पनि बयान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
ravi-bhairahawa4-sarkari-wa.jpg

भैरहवा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयानले निरन्तरता पाएको छ । 

मंगलबार करिब पाँच घण्टा भएको बयान नसकिएपछि आज कार्यालय खुल्नासाथ सरकारी वकिलको कार्यालयमा पुनः हुने रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ । 

हिजोको बयान सकिएपछि गएराति लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो । मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । 

उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यो विषय जीबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बयानका क्रममा बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कार्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगी मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।

उनीमाथि काठमाडौँको सहकारीमा पनि ठगी आरोपमा अनुसन्धान भइरहेको छ । उनलाई बयानका लागि काठमाडौँ प्रहरीले पनि पक्राउ पुर्जी जारी गर्ने सम्भावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ