arrow

देशको मूल समस्या सरकारको अस्थिरता होइन

यो मुलुकमा काम कसैले गरेको छ भने हामीले गरेका छौँ - माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
madhav-nepal-07-26.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको मूल समस्या सरकारको अस्थिरता नभएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूहरू ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभई काम गरेर देखाएको जिकिर गरे । उनले नौ महिनाको सरकारले देशमा तरङ्गा पैदा गरेको बताए । उनले आफ्नो गाउँ, आफैँ बनाउँदेखि नौ सको अभियान, वृद्ध भत्ता प्रदान, ६० हजार सुकुम्वासी परिवारलाई जग्गा बाँड्ने लगायतका उदाहरणीय काम गरेर देखाएको बताए । उनले काम गर्नेका लागि नौ महिना नै काफी हुने बताए । मध्य पहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन शुरु गरेको दाबी गरे । 

उनले भने, ‘हाम्रो देशको समस्याको मूल कारण के हो, त्यहाँबाट जानुपर्छ । मूल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदा खेरी (नौ महिना) उदाहरण पेश गरेका छौँ । गफ होइन । काम गरेर देखाएका छौँ, नौ महिना भित्र । सारा देशमा तरङ्ग पैदा गरिदियौँ । आफ्नो गाउँ, आफैँ बनाऊँ भन्नेदेखि लिएर, नौ सको अभियानदेखि लिएर, वृद्ध भत्ताको कुरादेखि लिएर । सुकुम्वासीलाई जग्गा बाँड्ने, ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गर्नेदेखि लिएर, बिहानीले दिउँसो कस्तो हुन्छ भन्न कुराको सङ्केत गर्दछ । गर्नेले छोटो समयमा गर्छ । एक जनाले मलाई भने, हामी मध्य पहाडी राज्यमा हिँडे, त्यहाँको इन्जिनियरलाई सोधेँ, यो कसको पालामा भयो ? उनीहरूले भने: माधव नेपाल प्रधानमन्त्री भएको पालामा भएको हो । हाम्राले प्रचार गर्न चाहँदैनन् वा थाहा नै पाउँदैनन् । मान्छे काँग्रेस पार्टीका रहेछन्, तपाईँले यति शानदार बाटो बनाउनु भएछ, त्यहाँ म गाडी लिएर जाँदा त कस्तो आनन्द भयो । अर्को एक जना तराईको हुलाकी राजमार्गमा जानुभएको रहेछ । त्यहाँ सोध्दा उनीहरूले भने, माधव नेपाल प्रधानमन्त्री हुँदा नै भारतको प्रधानमन्त्रीसँग हुलाकी राजमार्गको निम्ति आर्थिक सम्झौता र निर्माणको काम अघि बढ्यो । यो बाटो हेर्नुस् । शानदार बाटो ।’

अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरूले नै गरेको दाबी गरे । मुलुकमा परिवर्तन पनि आफूहरूले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरूले नै ल्याएको बताए । सो समयमा देशमा गणतन्त्र नआउने कुरा गर्नेहरू पार्टीभित्रै रहेको भन्दै उनीहरूलाई आफूहरूले चासो नदिएको बताए । राजतन्त्रका विरुद्धमा जान काँग्रेसले खुट्टा कमाएको र अरू पार्टीले पनि हिम्मत नगर्दा आफूहरूले नै आन्दोलन गरेर हटाएको बताए । उनले परिवर्तनलाई साकार बनाउने काममा आफूहरू सफल भएको जिकिर गरे । 

उनले भने, ‘हामीले शानका साथ भन्नुपर्छ, यो मुलुकमा काम कसैले गरेको छ भने हामीले गरेका छौँ । परिवर्तन कसैले गरेको छ भने हामीले गरेका छौँ । गणतन्त्र कसैले ल्याएको छ भने हामीले ल्याएका छौँ । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरू यही पार्टीभित्र थिए । गीत गाएर मात्रै हिँडेका होइनन् । विरोध गरेर हिँडेका थिए । उत्साह बढाउने होइन, घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौँ । वास्ता गरेनौँ । हामीले भन्यौँ, हिँड्ने हिँडिरहन्छन्, हिम्मत नभएकाहरू थन्किरहेका हुन्छन्, बसिरहन्छन् । बस्नेलाई बस्न देऊ । हिँड्नेलाई जान देऊ । हामी हिँडिरह्यौँ । राजतन्त्रका विरुद्धमा अरू पार्टीले पनि हिम्मत गरेनन् । काँग्रेसको पनि खुट्टा काम्यो । उसले पनि बेबी किङ भन्न थाल्यो । तर हामीले एक्लै आँट गर्‍यौँ । र परिवर्तनलाई साकार पार्‍यौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ