arrow

रवि लामिछानेको रुपन्देहीको बयान सकियो, पोखरा लगिने

logo
नारायण वली, 
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
ravi-lamichhane-81-7-28.jpg

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ । अब उनलाई फेरि पोखरा लैजाने तयारी गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा मंगलबारदेखि भएको बयान बिहीबार बेलुका सकिएको हो । योसँगै उनलाई आजै राति पोखरा लैजाने तयारी भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । 

बुद्ध एयरको जहाज राति ८ बजे जाने भनिएको छ । यद्यपि खराब मौसमका कारण समय ठ्याक्कै भन्न सक्ने अवस्था नभएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ । त्यस्तै आजै पोखरा लैजानेमा शंका रहेको प्रहरीले जनाएको छ ।

उनलाई कार्तिक २ गते काठमाडौँमा पक्राउ गरी कार्तिक ३ गते कास्की पुर्याइएको थियो । गत मंगलबार बयानका लागि रुपन्देही ल्याइएको थियो । पछिल्लो समय उनलाई १३ दिन समय थपेर अनुसन्धान भइरहेको छ । 

भैरहवामा सरकारी वकिलको कार्यालयमा तीन दिन लिइएको बयानमा सोधिएका सबै प्रश्नहरुको रविले इन्कारी जवाफ दिएको स्रोतले बताएको छ। उनले सहकारीको विषयमा जीबी राई र सुप्रिम सहकारी बुटवलका व्यवस्थापक सागर केसीलाई जानकारी भएको र उनीहरुलाई झिकाएर सोध्न भनेको स्रोतको भनाइ छ ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले लिएको बयानमा आफू सहकारी ठगी प्रकरणमा संलग्न नभएको उनले बताएका छन् । उनले गोरखा मिडियामा सहकारीको रकम आएको बारे जीबी राईलाई नै थाहा भएको बयान दिएका छन् ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ