arrow

रवि लामिछानेको बयान सकिए पनि प्रक्रिया पूरा नहुँदा भैरहवामै रोकिए, शुक्रबार पोखरा लगिने

logo
नारायण वली, 
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
ravi-bhairahawa4-sarkari-wa.jpg

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको भए पनि बिहीबार भैरहवामै राखिएको छ । उनलाई बिहीबारै पोखरा लैजाने तयारी भएको भए पनि बयान भएका कागजी प्रक्रिया मिलानमा ढिलाई हुँदा पोखरा लैजान नसकिएको रुपन्देही प्रहरीले जनाएको छ । 

प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बयान सकिएको भए पनि बिहीबार जिल्ला प्रशासन कार्यालयमा राखिएको जानकारी दिइन् । उनले बयान भएका कागजी प्रक्रिया मिलानमा ढिलाई हुँदा पोखरा लैजान नसकिएको बताइन् ।

उनलाई अब शुक्रबार पोखरा लगिने छ । जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा मंगलबारदेखि भएको बयान बिहीबार बेलुका सकिएको हो । 

उनलाई कार्तिक २ गते काठमाडौँमा पक्राउ गरी कार्तिक ३ गते कास्की पुर्याइएको थियो । गत मंगलबार बयानका लागि रुपन्देही ल्याइएको थियो । पछिल्लो समय उनलाई १३ दिन समय थपेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । 

भैरहवामा सरकारी वकिलको कार्यालयमा तीन दिन लिइएको बयानमा सोधिएका सबै प्रश्नहरुको रविले इन्कारी जवाफ दिएको स्रोतले बताएको छ। उनले सहकारीको विषयमा जीबी राई र सुप्रिम सहकारी बुटवलका व्यवस्थापक सागर केसीलाई जानकारी भएको र उनीहरुलाई झिकाएर सोध्न भनेको स्रोतको भनाइ छ ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले लिएको बयानमा आफू सहकारी ठगी प्रकरणमा संलग्न नभएको उनले बताएका छन् । उनले गोरखा मिडियामा सहकारीको रकम आएकोबारे जीबी राईलाई नै थाहा भएको बयान दिएका छन् ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ