‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३० शुक्रबार
558
Shares
पोखरा । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणका लागि सहयोग गर्ने भएको छ ।
पोखरा महानगरपालिका क्षेत्रमा रहेका सात वटा ताललाई जोड्ने उक्त परियोजना निर्माण गर्न महानगरले गत वर्षदेखि योजना अघि बढाएको हो ।
‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका बारेमा छलफल सुरु भएको छ । पोखराको दिगो पर्यटन विकासअन्तर्गत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको महानगरप्रमुख धनराज आचार्यले बताए ।
उनका अनुसार एडिबीको रु एक अर्ब आर्थिक सहयोगमा निर्माण हुने परियोजनाले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ ।
उनले ८५ किमी लम्बाइको ‘लेक टु लेक जोड्ने साइकल ट्र्याक’ पोखराका लागि महत्पूर्ण पर्यटकीय पूर्वाधार बन्ने बताए ।
नगरप्रमुख आचार्यले भने, “यसले संसारभरिका साइकल प्रेमीलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ भने पोखराको पर्यटन प्रवर्द्धनमा यो महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास लिएका छौँ ।”
पोखरा महानगर वातावरणीय हिसाबले स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने आचार्यले उल्लेख गरे ।
पोखरामा रहेका तालहरूलाई एकआपसमा (भित्र पर्नेगरी र तालहरू बाहिर पर्नेगरी) जोड्ने गरी ‘इनर’ र ‘आउटर’ दुई वटा रुटसहित विभिन्न स्थानमा कनेक्ट रुट निर्माण गर्दा करिब ८५ किमी लम्बाइको साइकल ट्र्याक बन्ने महानगरले जनाएको छ ।