arrow

उच्च रक्तचाप भएकी बाइस दिनकी सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ कार्तिक ३० शुक्रबार
sutkeri-helicoptor-81-7-30.jpg

हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुलीकी एक जना महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी भएको बाइस दिन पुगेकी एक जना सुत्केरीको बिहीबार रातिबाट एक्कासी उच्च रक्तचापको कारण बेहोश अवस्थामा स्वास्थ्य चौकी ल्याएको र त्यहाँ निजको उपचार हुन नसक्ने भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतिक्षा भारतीले बताइन् ।

अदानचुली गाउँपालिका ५ की २० वर्षकी झुपा छत्याललाई सुत्केरी भएको बाइस दिनपछि उच्च रक्तचाप भएपछि स्वास्थ्य चौकीको सिफारिसमा अदानचुली गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार भएको हो । 

जनशक्ति र उपकरणको व्यवस्था नहुँदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवती महिलाहरुका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ । 

चालु आर्थिक वर्षको साउन महिनायता अदानचुली गाउँपालिकाबाट यो सहित चार जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डाक्टर भारतीले बताइन् ।

उनको यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक बिनोद बुढाले बताए । 

सुुर्खेत पुर्याए लगत्तै उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।



नयाँ