arrow

सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
ravi-lamichhane-arrest-81-7-4.jpg

काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि एक महिनादेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धानको बाटो खुलेको हो ।

यस सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

रवि र छवि अहिले कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका छन् । उनीहरु माथि अनुसन्धान चलिरहेको छ । रवि कार्तिक २ गते पक्राउ परेका थिए भने छवि असोज ६ गतेदेखि प्रहरीको हिरासतमा छन् । 

रवि र छविमाथि रुपन्देही जिल्ला प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेपछि कास्कीबाटै रुपन्देही लगेर बयान दिलाएर फर्काइएको थियो । 

कास्कीबाट अब रवि र छविलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइने बुझिन्छ । 

गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमार्फत अपचलन गरेको खुलेपछि आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउको अनुमति दिएको थियो । 

ग्यालेक्सी टीभीमा पाँच सहकारीबाट रकम लगिएको खुलेपछि उनीहरू पक्राउ परेका हुन् । रवि ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक र छवि पूर्वसञ्चालक हुन् ।

ग्यालेक्सी टेलिभिजन तथा सहकारीका सञ्चालक ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई भने फरार छन् । 

अहिलेसम्म तीन सहकारीको रकम अपचलन गरेको भनेर पक्राउ पुर्जी जारी भए पनि बाँकी दुई सहकारी अब तात्ने देखिन्छ । 



नयाँ