arrow

निर्माणाधीन तालचोक-बेगनास सडकखण्ड विश्व बैंककाे टोलीबाट अवलोकन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
talchok-begnas-sadak.jpg

पोखरा । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मिलित टोलीले तालचोक-बेगनास सडकखण्ड, कालिकास्थान-पुँडीटार-लामेआहाल सडक र शिशुवा-सिसाघाट सडकको स्थलगत अवलोकन गरेको छ ।

तालचोक-बेगनास सडकखण्ड विस्तारको काम भइरहेको अवस्थामा विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको  सडकको पछिल्लो अवस्थाका बारेमा टाेलीले स्थलगत अनुगमन गरेकाे हाे ।

टोलीले तालचोकको बेगनासको सडकका सम्बन्धमा तोकिएको समयमा नै काम सक्ने गरी कामको गति बढाउन ताकेता गरेको छ भने अन्य दुई वटा सडकको पछिल्लो प्रगति निकै राम्रो रहेको बताएको छ ।

तीन दशमलव २८ किमी लम्बाइको तालचोक-बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनमा स्तरोन्नति हुँदैछ ।

डेढ मिटरको डिभाइडर, दुवै छेउमा साढे दुइ मिटर पार्किङ स्पेस, दुवै छेउमा एक मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि दुई मिटर चौडाइ फुटपाथ र सडकमा चार सेमी मोटाइको अस्फाल्ट पिच हुनेछ ।

उता कालिकास्थान-पुँडीटार-लामेआहाल सडकको भने सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम भइरहेको छ । करिब १२दशमलव४४ किमी सुविधासम्पन्न सडक निर्माण हुनेछ ।

सात मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेनसहितको दुवैतर्फ दुई मिटरको फुट ट्र्याक हुनेछ ।

विश्व बैंकको तीन अरब आर्थिक सहायतामा योसहित तालचोक-बेगनास सडक र शिशुवा-शिशाघाट सडक स्तरोन्नति गर्न लागिएको हो ।

यी सडक निर्माणले त्यस क्षेत्रका नागरिकलाई आवागमनमा सहजता प्रदान हुनुका साथै कृषिजन्य उत्पादनको बजारीकरणमा समेत योगदान गर्नेछ ।

साे क्रममा नगर प्रमुख धनराज आचार्यले निर्माण कम्पनीलाई तोकिएको समय भित्र नै काम सम्पन्न गर्न निर्देशन दिए । कामको गति सुस्त हुँदा नागरिकलाई सास्ती भएको भन्दै उनले फिल्डमा प्रगति देखिने गरी काम गर्न निर्देशन दिए  ।

टोलीमा विश्व बैंकका टास्क टिम लिडर अवेबाओसहित मनोजलाल कर्ण, मिलन कार्की, नवीन रावल र सुजता भण्डारी, पिसिओ रवि शाह, पिएमएस्टी यज्ञ मल्ल र पोखरा महानगरपालिकाको तर्फबाट इन्जिनियर परियोजनाका फोकल पर्सन नवीन गौतम र जगन्नाथ कोइराला सहभागी थिए ।



नयाँ