arrow

जिद्दी नगरौँ

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०८१ मंसिर १६ आइतबार
shivaprasad-pokharel-81-8-1.jpg

हामी आजका दिनमा विश्वकै गरिब देशमा गनिन्छौँ । गरिब भन्दा पनि हामी कसैले भनेको मान्दैनौँ र सबैलाई हामीले भनेअनुसार चल्नु पर्छ भनेर ज्ञान बाँड्न मन पराउँछौँ । तर विश्वका धेरै मुलुकले हामीले भनेको पत्याउन त परको कुरा हामीलाई मन्द बुद्धि भएका देशका जनताको रुपमा हेर्ने गरेका छन् । 

हामी त्यसरी हेर्न हुँदैन भनेर भन्छौँ । हामीले कसैसँग पनि ठूला कुरा नगरेकै राम्रो हुन्थ्यो भन्ने लाग्छ। ठूला कुरा गर्नलाई हामीसँग अरुले पत्याइदिनका लागि पत्यारिलो आधार पनि हुनु पर्यो नि । जिद्दी नगरौँ।

हाम्रो देश विश्वका दुई ठूला शक्ति राष्ट्र भारत र चीनको बीचमा रहेर यी देशलाई हामीले भने अनुसार हिँड्नु पर्छ भनेर ज्ञान दिन खोज्छौँ । तर यिनले मान्दै मान्दैनन् । हाम्रो देशका लोभीपापीहरुले चीनबाट लिन सकिने जति लिए चीनबाट हामीसँग केही माग पनि रहेका होलान् । हामी कोठाभित्र आफूले लिने बेलामा सबै कुरा हुन्छ, हस्, भैहाल्छ भनेर जवाफ दिएर झुक्याउँछौँ । अनि कोठा बाहिर निस्किए पश्चात भए नभएको कुरा काट्छौँ । 

हामीले कुरा काटेको विषय अरुलाई थाहै हुँदैन भन्ने सोच्छौँ । त्यही भएर होला विदेशका मानिसले हामीलाई मन्द बुद्धिको ट्याग झुण्ड्याइ दिएको । हामीले ठूला कुरा नगरेकै राम्रो हुन्थ्यो । किनकि हामी को हौँ भनेर हामी स्वयं बाहेक संसारका सबैलाई थाहा भैसकेको छ।
 
भारतबाट पनि हाम्रा लोभीपापीले ठूलै दौलत लिएको बारेमा अखबारमा आइरहन्छ । मासिक पारिश्रमिक बुझ्ने लोभीपापीको संख्या पनि सयौँ रहेको छ भन्ने सुन्ने गरिन्छ। भारतलाई पनि कोठाभित्र बसेर वार्तालाप गर्दा हुन्छ, हस्, भैहाल्छ, चिन्ता लिनै पर्दैन भनेर निस्कन्छौँ । अनि बाहिर निस्कने बित्तिकै उसको पनि सत्तो सराप गर्छौं । 

उसलाई पनि लाग्दो हो यी मन्द बुद्धि भएकाहरु कहिल्यै सुध्रने भएनन् । हामीलाई लाग्छ हाम्रो देशमा पानी छ, हिमाल छ, बुद्ध जन्मिएको हो, हामी चीन र भारतको बीचमा रहेको देशलाई ती दुई देशले हामीले भने अनुसार चल्नु पर्छ । नत्र हामी जे पनि गर्दिन्छौँ ।
 
हामीले कसको के गर्ने ? हाम्रो देशका अशिक्षित बेरोजगार जनता लाखौँको संख्यामा मजदूरी गर्न भारत गएर हात मुख जोड्नु पर्ने बाध्यता  छ। भारतबाट ग्यास, ईन्धन आयात नभए हाहाकार हुन्छौँ ।

हालका दिनमा अर्को देश अमेरिकाले पनि हाम्रो देशमा केही आर्थिक गतिविधि बढाएको छ । उसले विद्युत व्यापारको लागि पूर्वाधार तथा केही रोड चौडा बनाएर कालोपत्रे गरिदिने भनेर प्रवेश गरेको छ । 

हाम्रा लोभीपापीले उताबाट पनि केही न केही लाभ लिएका छन् भन्ने सुनिन्छ । उसलाई पनि हाम्राले कोठाभित्र बसेर लिने बेलामा हुन्छ, हस्, भैहाल्छ, तपाईं महान् नै हो भनेर फसाए । बाहिर निस्किए पश्चात उताको सेनाले हाम्रो छातीमा परेड खेलिसकेको हल्ला पिटाएर उसलाई पनि राम्रैसँग हाम्रो असली रुप देखाइसके ।
 
हामी यी तीन देश मात्र हैन अन्य देशलाई पनि हामीले भनेको मान्नु पर्छ भनेर अर्ती उपदेश दिइरहेका हुन्छौँ । रुसलाई त्यो युक्रेनमा बन्दुक पड्काउँदा राम्रो हुँदैन है भनेर ज्ञान दिने पनि हामी नै हो । 

तर उसले हामीले भनेको मान्दै मानेन भन्ने मात्र हाम्रो गुनासो हो । हामीले भेनेजुएलामा कसैले धावा बोल्यो भन्दा पनि हाम्रो मन भेनेजुएलाको जनताको भन्दा बढी दुख्छ । पेरुको पनि त्यस्तै हो । अनि हामीलाई विश्वका अन्य देशमा भएका गतिविधिले त्यहाँका जनतालाई भन्दा बढी छुने गरेको छ। मन्द बुद्धि भएर  होला त्यसो भएको हो कि ?
  
हाम्रो देशप्रति कसैको ठूलो चासो छैन जस्तो लाग्छ । तर हामी संसारका अधिकांश देशहरुले हाम्रो देश र हामी मन्द बुद्धि भएकाहरुलाई चासोका साथ हेरिरहेका छन् भनेर गफ गर्दै समय बिताइरहेका छौँ । आदरणीय जनताहरु ठूलो कुरा नगरौँ र आफैँलाई नढाटौँ । हामीलाई कसैले नपत्याउने भैसकेका छौँ । यहाँ भन्दा तल नझरौँ । 

शुरुमा आफूले बाघ देखेको थिएँ भन्ने गफबाट कुराकानी थालेर विस्तारै गल्दै-गल्दै अन्त्यमा भने बेस्सरी खस्रया-खस्रया गरेको साँच्चै हो भनी यहाँबाट चाहिँ घट्दिन है भनेर जिद्दी नगरौँ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ