लैङ्गिक हिंसा अन्त्यका लागि मदिरा नियन्त्रणलाई मूल रणनीति बनाउनु पर्छ - राज्यमन्त्री खड्का
तर्कराज भट्ट,
प्रकाशित २०८१ मंसिर २२ शनिबार
938
Shares
डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले लैङ्गिक हिंसाका प्रमुख कारणहरूमध्ये मदिरा पनि भएकाले यसको व्यवस्थापन आवस्यक रहेको बताएकी छिन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत शनिबार सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रममा राज्यमन्त्री खड्काले हिंसाविरुद्धको लडाइँमा मदिरा नियन्त्रणलाई मूल रणनीति बनाउनुपर्ने धारणा व्यक्त गरिन् ।
‘मदिराको अनियन्त्रित प्रयोगले महिला, बालबालिका, र परिवारमा विभिन्न प्रकारका हिंसा र समस्याहरू सिर्जना हुने भएकाले हिंसा न्यूनीकरण गर्न यसको व्यवस्थापन आवश्यक छ ।’ उनले भनिन् ।
उनले हिंसाका घटनाहरू नियन्त्रण गर्न सामुदायिक जागरण, कानूनी कार्यान्वयन र स्थानीय सरकारको सक्रियतामा जोड दिइन् । उनले परिवार र समाजभित्र लैङ्गिक समानता स्थापित गर्न र नकारात्मक सोच हटाउन सामुदायिक सहभागिता र जनचेतना कार्यक्रमहरू आवश्यक रहेको बताइन् । उनले सेवा प्रदायक कार्यालयले पनि सेवाग्राहीलाई हिंसारहित सेवा प्रदान गर्न सक्नुपर्ने बताइन् ।
राज्यमन्त्री खड्काले हिंसा न्यूनीकरणका लागि स्थानीय सरकार र समुदायबीचको सहकार्य समेत आवश्यक रहेको बताइन् । कार्यक्रममा डडेल्धुराका विभिन्न निकायका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।