एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरपश्चिमसँग टेक्यो घुँडा [फोटोफिचर]
हारले गुम्यो जनकपुरको शीर्ष स्थान, जारी लिगकै सबैभन्दा कम योगफलमा समेटियो
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
380
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको १८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर ७२ रनले पराजित भएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनायो । विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा किशोर महतो एक्लैले ३५ रन खर्चेर ४ विकेट लिए ।
त्यस्तै शेर मल्ल र अरनिको यादवले २–२ विकेट लिए । सामान्य चुनौती लिएर मैदानमा उत्रिएको जनकपुरले लज्जास्पद ब्याटिङ गर्ने क्रममा १२.१ ओभरमा अलआउट हुँदै ५१ रनमै रोकियो । यो जारी लिगको सबैभन्दा कम योगफल हो ।
क्रिकेटको सुन्दर पक्ष यही हो कि लगातार चार जितसहितको रेकर्ड राखेको जनकपुरले पाँचौँ खेलमा हार बेहोर्दा शीर्ष स्थानमात्र गुमाएन कि सबैभन्दा कम योगफलमा समेटियो ।
जोशुआ ट्रोम्पले सर्वाधिक १३ रन बनाए । १३ रन अतिरिक्तका रुपमा पाएको थियो । चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् ।
हर्मित सिंह, दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २–२ विकेट लिए ।
आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लाइन्स भिड्दै छन् ।
अंक तालिका
५ खेलबाट ८ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको छ । पहिलो हार बेहोरेको जनकपुर ५ खेलबाट ८ अंकबाटै दोस्रो स्थानमा छ ।
चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । लुम्बिनी लायन्स ५ खेलबाट २ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
काठमाडौँ गुर्खाज ३ खेलबाट २ अंकसहित छैटौँ, विराटनगर किंग्स २ अंकसहित सातौँ तथा पोखरा ४ खेलबाट २ अंकसहित पुछारमा रहेको छ ।
यसअघिका खेल
–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए ।
–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ ।
–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।
–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।