पत्रकार महासंघ मुगुमा भण्डारी नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८१ मंसिर २६ बुधबार
864
Shares
मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको निर्वाचनमा अच्युत राज भण्डारीको नेतृत्वमा १९ सदस्यीय शाखा समिति निर्विरोध निर्वाचित भएको छ ।
गठित निर्वाचन समितिले तोकेको मनोनयन दर्ता समयमा पदाधिकारी तथा सदस्य पदहरुमा एकल उम्मेदवारी परेको र दाबी विरोधको समय पनि कुनै उम्मेदवार उपर दाबी विरोध नपरेपछि पूरै शाखा समिति निर्विरोध निर्वाचित भएको हो ।
मुगु शाखा निर्वाचन समितिका संयोजक तथा अग्रज पत्रकार विनोदकुमार मल्लका अनुसार अध्यक्षमा भण्डारी, उपाध्यक्षमा जीवन सेजुवाल, उपाध्यक्ष महिलामा सुकमाया शाही, सचिवमा नन्दबहादुर रोकाया, कोषाध्यक्षमा मोहनकुमार मल्ल, सहसचिवमा शिबचन्द्र कार्की, सह सचिव समावेशीमा सोबिना भाम निर्विरोध निर्वाचित भएका छ्न भने १९ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ ।
केन्द्रीय परिषद प्रतिनिधिमा नृपेन्द्रबहादुर मल्ल र कबिराज कार्की प्रदेश परिषद प्रतिनिधिमा दानबहादुर बुढा र गोकर्ण शाही निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत तथा अधिवक्ता प्रशान्तकुमार शाहीले जानकारी गराए ।
निर्वाचित पदाधिकारी, सदस्य,केन्द्रीय परिषद् र प्रदेश परिष्द प्रतिनिधिहरुलाई निर्वाचित प्रमाण पत्र हस्तान्तरण र शपथ ग्रहण निर्वाचन समितिका संयोजक विनोदकुमार मल्लले बुधबारै खुवाएका थिए ।
मुगु शाखामा हालसम्म जिल्ला शाखा समिति निर्विरोध निर्वाचित हुँदै आएको छ । जिल्लामा प्रेस युनियनको बाहुल्यता रहे पनि प्रेस चौतारी र प्रेस सेन्टरलाई पनि समेट्दै शाखा आजसम्म अघि बढ्दै आएको निवर्तमान अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए ।
नव निर्वाचित अध्यक्ष भण्डारी नेपाल प्रेस युनियन मुगुका निवर्तमान जिल्ला सचिव हुन् । उनी नयाँ पत्रिकाका जिल्ला सम्वाददातासमेत रहेका छ्न ।