जनकपुर १८१ रनको चुनौती पछ्याउँदै, जनकपुर जित्दा क्वालिफायरमा, चितवन जित्दा प्लेअफमा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
317
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको २५ औँ खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिडिरहेका छन् ।
जितका लागि जनकपुर बोल्ट्सले १८१ रनको चुनौती पछ्याइरहेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै चितवनले ५ विकेटको क्षतिमा १८० रन बनायो ।
कप्तान कुशल मल्लले ४१ बलमा ७२ रन बनाए । चौथो विकेटका लागि कुशलसँग ११३ रनको साझेदारी गर्ने क्रममा रवि बोपाराले ३२ बलमा ४४ रन जोडे ।
यो खेल जित्दा जनकपुर क्वालिफायरमा पुग्नेछ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ ।
चितवनले जित हासिल गर्दा प्लेअफ पक्का गर्नेछ । दुवै टिमको लिग चरणको यो अन्तिम खेल हो ।
अंक तालिका
६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।
कर्णाली ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । चितवन ६ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ६ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा छ । विराटनगर किंग्स ६ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।
पोखरा एभेन्जर्स ६ खेलबाट ४ अंकसहित सातौँ तथा लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित पुछारमा रहेको छ ।
यसअघिका खेल
–२४ औँ खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । पोखरालाई काठमाडौँ गुर्खाजले ६ विकेटले हराएको हो ।
–२३ औँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो ।
– २२ औँ खेलमा लिगको अन्तिम खेल खेलेको लुम्बिनी लायन्सले कर्णाली याक्ससँग ५ रनको हार बेहोर्यो ।
–२१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
–२० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ । विराटनगर किंग्सले १३९ रन बनाएकामा पोखरा एभेन्जर्सले पनि बराबरी स्कोर बनाएपछि सुपर ओभरमा पोखरा १३ रनले विजयी भयो । पोखराले १८ रन बनाउँदा विराटनगर ५ रनमै रोकियो । सुपर ओभरबाट छिनोफानो भएको यो पहिलो खेल हो ।
–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।
–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।
–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए ।
–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ ।
–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।
–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।