arrow

इरान समर्थित समूहमाथि खरो रूपमा उत्रिन इराकलाई दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
antony-blinken.jpg

काठमाडौँ ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरान समर्थित मिलिसियामाथि कडा कारबाही गर्न इराकलाई पनि दबाब दिएको शनिबार एक अमेरिकी अधिकारीले बताएका छन् ।

सिरियाली नेता बसर अल असदको पतनपछि तेहरान कमजोर अवस्थामा पुगेको मुल्याङ्कन गर्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले इरान समर्थित मिलिसियामाथि कडा कारबाही सुरू गर्न प्रोत्साहन गरेको उनले बताए । 

इस्लामिक नेतृत्वको सिरियाली विद्रोहीले इरानको प्रमुख सहयोगी असद परिवारको आधा शताब्दी लामो शासन अन्त्य गरेपछि भएको क्षेत्रीय भ्रमणको अन्तिम समयमा ब्लिन्केनले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग शुक्रबार बग्दादमा भेटवार्ता गरेका थिए । 

अमेरिकी अधिकारीका अनुसार ब्लिन्केनले सुडानीलाई इरान केही समययता कमजोर अवस्थामा रहेको र इराकसँग तेहरानको प्रभाव कम गर्ने अवसर रहेको बताएका थिए । 

ब्लिन्केनले सुडानीलाई वर्षौंदेखि इराकमा अमेरिकी सेनामाथि आक्रमण गर्दै आएको इरान समर्थित इराकी शिया सशस्त्र समूहमाथि कडा कारबाही गर्न आग्रह गरेका थिए ।

ब्लिन्केनले सुडानीलाई इराकी भूमिबाट सिरियामा रहेका कुनै पनि सम्बद्ध समूहलाई इरानी हतियार हस्तान्तरण हुन नदिन सहयोग गर्न पनि आग्रह गरेका छन् । 

बग्दादमा भएको बैठकपछि ब्लिन्केनले आफ्नो सार्वजनिक टिप्पणीमा अमेरिका इराकको सार्वभौमिकताका लागि काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

“मलाई लाग्छ, यो इराकका लागि पनि आफ्नो सार्वभौमिकताका साथै स्थिरता, सुरक्षा र सफलतालाई मजबुत बनाउने क्षण हो,” उनले इरानको नाम उल्लेख नगरिकन बताए ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणले तेहरानका शत्रु सद्दाम हुसेनलाई सत्ताच्यूत गरेपछि इरानको प्रभाव शिया बहुल छिमेकीमा ह्वात्तै बढेको थियो ।

सिरियामा लामो समयदेखि असदको सरकारले इरान र लेबनानमा उसको शक्तिशाली सहयोगी हिजबुल्लाहको सहयोगमा शक्ति आर्जन गरेको थियो । 

तेहरान समर्थित समूहले इजरायलसँगको हालैको युद्धमा ठूलो क्षति व्यहोरेको छ, यसले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा पनि आक्रमण गरेको छ।

सिरियाको अर्को प्रमुख समर्थक रूसले भने युक्रेनमा जारी युद्धका कारण असदको प्रशासनलाई सहयोग गर्न असफल भएको देखिन्छ । 

अमेरिकी अधिकारीले ब्लिन्केनको अनुरोधमा सुडानीले कस्तो प्रतिक्रिया देखाए भन्नेबारे जानकारी भने दिन अस्वीकार गरेका थिए ।

ब्लिन्केनले एक दशकअघि इराक र सिरियाको विशाल भूभागमा स्वघोषित खलिफा स्थापना गरेको अतिहिंसकारी इस्लामिक स्टेट समूहको पुनरुत्थान रोक्न इराकसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको बताइएको छ । 

इराकी सरकारको इरानसँग घनिष्ठ सम्बन्ध छ र अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बग्दादसँग इराकमा अमेरिकी सेनाको बाँकी उपस्थिति घटाउन सहमत भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी प्रशासनले इरानविरुद्ध अमेरिकी कदमलाई कडा बनाउने अपेक्षा गरिएको छ । यद्यपि, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौता गर्ने इच्छा व्यक्त गरेका छन्  ।

बाइडेन प्रशासनले गत महिना इराकलाई प्रतिबन्धका बावजुद इरानबाट बिजुली खरिद गर्न अनुमति दिएको थियो ।

ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले यो कदमको आलोचना गर्दै बाइडेनले इरानमा ठूलो नगद प्रवाहलाई अनुमति दिइरहेको बताएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ