arrow

सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ : सञ्चारमन्त्री गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
prithivisubba-gurung-lamjung.jpg

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उनले जानकारी दिए ।

लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गरे ।

उनले अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साइबर अपराधको अन्त्य गर्न बनेको ‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी रहेको बताए ।

मन्त्री गुरुङले भने, “सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ ।”

फरक प्रसङ्गमा उनले सहकारीले सर्वसाधारणलाई ठग्ने गरेकाले त्यसलाई रोक्न जरुरी रहेको बताए । देशका अधिकांश सहकारीमा एउटै व्यक्ति आजीवन अध्यक्ष रहने र रकमको हिनामिना भइरहेको अवस्थामा बढीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने गरी नियमन गर्न लागिएको मन्त्री गुरुङले उल्लेख गरे ।

सहकारी कुन स्तरका हुन सोहीअनुसार स्थानीय तह वा प्रदेशमा दर्ता हुने व्यवस्था मिलाइने उनले बताए ।

अहिले तत्काल सहकारीको गठीमा परेका जनताको रकम फिर्ता गर्न सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यायदेश संसद्बाट पास गरेर राष्ट्रपतिलाई बुझाइएको र प्रमाणिकरणसमेत भएको मन्त्री गुरुङले जानकारी दिए।

सबैभन्दा पहिला सानो रकम फिर्ता गर्ने र क्रमशः अन्य रकम पनि फिर्ता गराउनेतर्फ सरकार लाग्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ