कर्णालीमा ९० पुल बन्दै, कयौँ ठाउँमा छैन सरकारको उपस्थिति
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
607
Shares
सुर्खेत । भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा भारी मात्रामा साना, ठूला नदी रहेका छन् । भेरी नदी , कर्णाली नदीदेखि साना ,साना नदीको मात्रा धेरै रहेको छ । यी नदीका सहायक नदीहरु पनि थुपै रहेका छन् ।
शान्ति प्रक्रियापछि विकासको लयमा आउन थालेको कर्णाली प्रदेशमा संघीयताले थप टेवा पुर्याएको छ । गाउँगाउँमा सडक निर्माणका कामहरु चलिरहेका छन् भने भौतिक पूर्वाधारका कामहरु समेत सँगै जारी अवस्थामा रहेको छ ।
कर्णाली प्रदेश शुद्ध जल भण्डारको रुपमा रहेको मात्र नभई हिमालय पर्वतको कापहरु आउने शुद्ध पानि यहाँको लागि अमृतको रुपमा लिने गरिएको छ । चिनको सिमाना आर्थात उत्तर देखि पश्चिम बग्ने भेरी नदी देखि सबै भन्दा लामो फेरो हाल्ने कर्णाली नदी कर्णालीमै रहेका छन् । माथिल्लो हिमालले ठोकेको चाँदे झैँ भूभाग देखि तल्लो भागमा समथर रहेको कर्णाली अझैँ भर्जिन नै रहेको छ । कर्णाली घुम्नका लागि पनि उत्कृष्ट गन्तव्य हुँदै आएको छ । यहाँ धार्मिक पर्यटनको महत्व र आस्था समेत उस्तै रहेको छ । जो कर्णाली नदी र भेरी नदीको किनार कै आसपासमा बढी मात्रामा रहेको पाइन्छ ।
भारी मात्रामा धार्मिक पर्यटन देखि हिमालको आहा भन्दै आनन्द लिनेहरुका लागि मात्र नभई दैनिक कर्णालीका उच्च , समथर तथा मध्य भागमा सुन्दर कर्णालीको सपना देखेर संर्घष गर्ने भारी स्थानीयबासीका लागि पनि पुल , पुलेसा निर्माण गर्न प्रदेश सरकारले आफ्नो लगानी गर्दै आएको छ । कर्णाली प्रदेश स्थापना देखि हालसम्मका सरकारले कर्णाली प्रदेशमा रहेका दर्जनौ नदी नालामा वारपार गर्न झोलुङ्गे पुल बनाउदै आएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए । कर्णालीमा झोलुङ्गे पुलले बाटो मात्र छोटिदैन, मानिसका दैनिक संर्घषको समय पनि छोटिने उदेश्यलका साथ प्रदेश सरकारले झोलुङ्गे पुलको कल्पना गर्दै लगानी गर्दै आएको उनको भनाइ रहेको छ ।
विद्यालय जाने विद्यार्थीको दुःखका कथादेखि बिहान झिसमिसेमा निस्किएर आफ्नो तौल भन्दा बढी घाँसको भारी बोकेर खाली पेट नुनिला पसिना पुछ्दै आउने किसानका लागिसमेत उत्तिकै झोलुङ्गे पुलको महत्व कर्णालीमा रहेको छ ।
कर्णालीका १० जिल्लामा यो आर्थिक वर्षमा मात्र मन्त्रालयले ९० वटा पुल बनाउनका लागि बजेट बिनियोजन भई कार्यान्वन तहमा पुगेको सूचना अधिकारी कार्कीले बताए ।
भूगोलको प्राथमिक र आवश्यकता आधारमा प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण कार्यलाई जारी राखेको बताउदै कार्कीले भने ,‘चालु आव र अघिल्लो आवका गरी ९० वटा पुल निर्माण गर्न लागेको छौँ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । अहिले मात्र पुल निर्माण गर्न मन्त्रालयसँग २० करोड ५० लाख बजेट रूपैयाँ विनियोजन गरेको छ । चालु आवमा ४२ वटा नयाँ पुल निर्माण गर्ने कार्य योजना रहेको छ । मन्त्रालयले ग्रामीण क्षेत्रमा नागरिकलाई नदी वारपार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।’
उता भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले आर्थिक वर्ष २०८०/०८१ मा २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको बताए । मन्त्रालयको लक्ष्य वर्ष ९४ वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य रहेको समेत उनले सुनाए । त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा ७७ वटा पुल निर्माण भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा एक सय सात वटा पुल निर्माण गरिएको भौतिक मन्त्रालयले जनाएको छ । यो वर्ष पनि ४२ नयाँ पुल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ । यो वर्ष पनि ९० पुल निर्माण गर्ने लक्ष्य लिएको उनले बताए ।
मन्त्री बुढाका अनुसार ४२ वटा नयाँ पुलको बजेट निश्चित भएको छ । उपल्लो डोल्पामा जन्मिएका मन्त्री बुढाले भने , ‘कर्णाली हेर्ने हो डोल्पा , हुम्ला र मुगु जानु पर्छ । त्यही खास कर्णालीका कथा र भावना देखिन्छ । अनि मानिसले गरेका संर्घष अनि बाँच्ने आधार देखिन्छ । जिन्दगीको परिभाषा समेत त्यही देखिन्छ । सुनका कुरा भन्दा त्यहाँ नुनका कथा महँगा छन् । चामलका कुरा भन्दा तिते फापरका कथा महँगा रहेका छन् ।’
कर्णालीका सबै ठाउँमा अझैँ सडकको पहुँच नपुगको भन्दै मन्त्री बुढाले केन्द्रीय राज्य सत्ताले हामीलाई अझैँ न्याय गर्न नसकेको बताए । हुम्ला, डोल्पाका रहेका नागरिक बिना बर्दीका सिमाका सिपाही रहेको भन्दै राज्यले त्यहाँका नागरिकको लागि भारी योगदान गर्नुपर्ने उनको भनाइ रहेको छ । सीमा क्षेत्रमा अझैँसम्म नेपाल सरकारको उपस्थिति हुन नसकेको पूर्वमन्त्री वीरबहादुर शाहीले बताए ।
राज्यसँग उपल्लो डोल्पामा सुरक्षाका लागि व्यवस्था गरिदिन आग्रह गरियो तर अहिलेसम्म सुनुवाई भएन पूर्वमन्त्री शाहीले भने । 'डोल्पाको सदरमुकाम दुनैबाट फोक्सुण्डो पुग्ने समयसम्म दर्जनौँ काठको पुल वारपार गर्नुपर्छ त्यो ठूलो जोखिम हो' , उनले भने ।
भेरी नदीको किनारै किनार भएर यात्रा गर्नेदेखि सानीभेरी, जगदुल्ला खोला, तिला, हिमा, नलगाड लगायतका साना ठूला नदीहरुमा झोलुङ्गे पुलको सहारामा धेरै समय छोटिने गरेको उनको भनाइ रहेको छ ।
अन्य प्रदेशमा विकास चिनेको धेरै भए पनि कर्णालीमा विकास भन्ने खास शब्दसँग मितेरी लगाएको माओवादी जनयुद्धपछि आएको शान्ति पश्चात मात्र रहेको उनको भनाई रहेको छ ।