आदिकविहरूको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
432
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गरेका छन् । मंगलबार शितलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले आदिवासी जनजाति समुदायभित्र रहेका आदिकविकहरुको नाम र शालिक उपलब्ध गराउन आग्रह गरेका हुन् ।
उनले आयोगले मगर, राई लगायत, आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरूका आदिकविहरूको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए । उनले ४ सय बिगाहा जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको बताए । त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिहरूका आदिकविको मूर्ति रहने बताए ।
उनले भने, ‘भानुभक्तको चुँदीरम्घामा भानु साहित्य उद्यान ४ सय रोपनी जग्गा लिएर नेपाल सरकारबाट त्यहाँ एउटा भानु साहित्य उद्यान बनाउँदै छु । त्यहाँ मूर्तिवाटिका हुन्छ । त्यहाँ सबै भाषाका मूर्धन्य स्रष्टाहरू त्यहाँ रहन्छन् । भानुभक्तसहित सबै भाषाका आदिकविहरूको मूर्ति रहन्छ । त्यो कोको हुन्, मगरका, राई भाषाका आदिकवि उहाँहरूको नाम र मूर्ति चाहियो ।’
राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवर्द्धन एवं विकास तथा सो समुदायको सशक्तीकरण गरी सर्वाङ्गीण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवं कानूनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।