arrow

यू–१९ महिला टी–२० विश्वकपमा नेपालको सान्त्वना जित, आयोजक ७ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
u19-wc-w-2025-puja-mahato.jpg

काठमाडौँ । नेपाल मलेसियामा भइरहेको आईसीसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा सान्त्वना जितसँगै बिदा भएको छ । 

समूह चरणका सबै खेल हारेर अर्को चरण प्रवेश गर्न नसकेको नेपालले चौथो स्थानको प्लेअफमा मलेसियामाथि ७ विकेटको शानदार जित निकाल्यो । 

शुक्रबार भएको खलमा पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमै अलआउट हुँदै ४५ रनमात्र जोड्न सक्यो । मुरिमानले मात्र दोहोरो स्कोर खडा गर्ने क्रममा १५ रन बनाएको इनिङ्समा चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । 

नेपालका लागि शानदार बलिङ गर्ने क्रममा कप्तान पूजा महतोले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । त्यस्तै रचना चौधरीले ३ तथा रिया शर्मा र सीमना केसीले १–१ विकेट लिए । 

जवाफमा नेपालले ११ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान पूजाले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ३२ बलमा अविजित रहँदै २३ रन जोडिन् । 

उनी प्लेयअर अफ द म्याच भइन् । पूजा नै विश्वकपकी एकमात्र सफल अलराउन्डर नेपाली खेलाडी भएकी छिन् यससँगै पहिलो पटक विश्वकप खेलेको नेपालको मलेसिया विश्वकप सकियो । 

यसअघि समूह डी मा रहेको नेपाल अष्ट्रेलिया, स्कटल्याण्ड र बंगलादेशसँग पराजित भएको थियो । 

अष्ट्रेलिया विरुद्धको खेल
अष्ट्रेलिया विरुद्धको अन्तिम खेलमा नेपाल ८३ रनले पराजित भयो । अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १३९ रन बनायो । 

१४ रन जोड्दा ३ विकेट गुमाइसकेको अष्ट्रेलियाले त्यसपछि सम्मालिएर खेल्दै सम्मानित योगफल बनायो । 

काइम्हे ब्राएले ४५, इलेनर लारोसाले ३१ तथा हसरत गिलले अविजित रहँदै २१ बलमा ३० रन बनाइन् । 

नेपालका लागि कप्तान पूजा महतोले ३, सीमना केसीेले २ तथा रिया शर्माले १ विकेट लिइन् । 

जवाफमा नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ५६ रनमात्र बनाउन सक्यो । कप्तान पूजा महतोले १८ रन बनाए बाहेक कुनै पनि नेपाली ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

सनसनीपूर्ण खेल्दाखेल्दै स्कटल्याण्डसँग पराजित 
सनसनीपूर्ण प्रदर्शन गर्दागर्दै नेपाल स्कटल्याण्डसँग पराजित भयो । सुधारोन्मुख र सनसनी खेल्दै नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । 

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १८.५ ओभरमा अलआउट हुँदै ७३ रनमा समेटियो । 

अर्को चरणमा पुग्ने सम्भावना लगभग गुमाएको नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक २७ रन बनाइन् । 

त्यस्तै साबित्री धामीले १० रन जोडिन् । त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।

माइसी मेसेरियाले १५ रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । 

जवाफमा नेपालले कसिलो बलिङ गर्दै दबाबमा राखेको भए पनि स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेटको क्षतिमा जित हासिल गर्यो । 

विकेटकिपर पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा रचना चौधरी र सीमना केसीले समान २–२ तथा पूजा महतो र करिष्मा गुरुङले १–१ विकेट लिए । तीन खेलाडी रनआउट भएका थिए । 

बंगलादेशविरुद्धको पहिलो खेल
नेपालले खराब शुरुआत गर्यो । पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला टिमले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको हो । 

५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले १–१ विकेट लिए । 

यसअघि मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो । 

नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन् । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन् भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक–एक विकेट लिए । 

सन् २००७ बाट अन्तर्राष्ट्रिय महिला क्रिकेट थालेको नेपालको यो पहिलो ठूलो सहभागीता हो । 

१६ टिम सहभागी
यो विश्वकपमा १६ राष्ट्र सहभागी छन् । चार समूहमा विभाजन गरी आपसमा खेलाई हरेक समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन् । 

१६ बाट १२ मा झारिएपछि दुई समूह हुनेछ । पहिलो समूहमा पहिलो चरणको समूह ए र डीका शीर्ष तीन टिम हुनेछन् भने दोस्रो समूहमा समूह बी र सीका टिम रहने छन् । 

सुपर सिक्सका दुवै समूहका दुई टिम सेमिफाइनलमा पुग्नेछन् । एउटा समूहको शीर्ष टिमले दोस्रो समूहको दोस्रो टिमसँग सेमिफाइनल खेल्नेछ । 

फाइनल खेल आगामी २ फेब्रुअरीमा हुनेछ । 

यस्तो छ प्रारम्भिक समूह विभाजन–
समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इन्डिज छन् ।

समूह ‘बी’ मा इङ्गल्याण्ड, पाकिस्तान, आयरल्याण्ड र अमेरिका रहेका छन् । 

समूह ‘सी’ मा दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, समोआ र नाजेरिया छन् । 

समूह ‘डी’ मा नेपालसँगै बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ