काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० महिला क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । दोसो खेलमा नेपालले शनिबार थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको हो ।
त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १०१ रन बनायो । कविता कुँवर र बिन्दू रावलले समान २५ तथा कप्तान इन्दू बर्माले १५ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याटरले दोहोरो स्कोर खडा गरेनन् ।
डेब्यु खेलाडीद्वय अलिशा यादव अविजित २ तथा मनिषा उपाध्याय १ रनमा अविजित रहे । थिपात्चा पुथावोङले ३ विकेट लिइन् ।
जवाफमा थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गर्यो । प्लेयर अफ द म्याच नानापत कोन्चारोएन्काईले ५८ बलमा अविजित रहँदै ६० रन जोडिन् ।
नेपालका लागि डेब्यु खेलाडी मनिषा उपाध्यायाले २ तथा कविता कुँवर, रुबिना क्षेत्री र कविता जोशीले १–१ विकेट लिए ।
अब नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
पहिलो खेलको नतिजा
नेपालले कमजोर शुरुआत गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग २० रनको हार बेहोर्यो ।
जितका लागि नेपालले १५८ रनको चुनौती पछ्याउने क्रममा ७ विकेटको क्षतिमा १३७ रन बनायो । सीता राना मगरले ४५ बलमा २८, कविता जोशीले १७ बलमा २७ तथा पूजा महतोले १४ बलमा २४ रन बनाए बाहेक अन्य ब्याटरले उल्लेखनीय खेल्न सकेनन् ।
नेदरल्याण्ड्सकी क्यारोलिन डे लाङ्गे र इभा लिन्चले समान २–२ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १५७ रन बनायो ।
रोविने रिज्केले ४८ बलमा अविजित रहँदै ५९ तथा आइरिस विलिङले १३ बलमा अविजित रहँदै ३१ रन जोडिन् ।
यहाँनेर नेपाली टोलीकी कप्तान इन्दू वर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय विफल भएको थियो ।
नेपालका लागि यू–१९ टिमकी कप्तान पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सीता राना मगरले एक एक विकेट लिए ।
घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरेको हो । महिला टी–२० वरीयतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २० औँ स्थानमा छ ।
यो श्रृंखलाको खेल्ने शैली
सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।