जित्नै पर्ने खेलमा नेदरल्याण्ड्सलाई हराउन नेपालले १४१ रनको चुनौती पछ्याउँदै
सीतालाई पाँच विकेट, दोस्रो खेल खेलेकी मनिषाको खातामा दुई विकेट, रेवतीको डेब्यु
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
459
Shares
काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि मैदान कीर्तिपुरमामा यसअघिका दुवै खेल हारेको नेपाल उपाधि होडका लागि जित्नैपर्ने दबाबमा रहेको छ ।
नेपालले जितका लागि १४१ रनको चुनौती पछ्याउँदैछ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।
कप्तान बेबेट्टे डे लीडेले सर्वाधिक ४१ रन बनाएको इनिङ्समा सात खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
नेपालका लागि सीता राना मगरले १२ रन खर्चेर ५ विकेट लिइन् । त्यसैगरी दोस्रो खेल खेलेकी मनिषा उपाध्यायले २ विकेट लिइन् । थाइल्याण्ड विरुद्धको डेब्युमा पनि उनले २ विकेद्ट लिएकी थिइन् ।
यो खेलबाट रेवती धामीले डेब्यु गरेकी छिन् । एक ओभरमात्र फ्याँकेकी रेवतीले १० रन दिएकी थिइन् ।
यसअघि भएको खेलमा नेपालले नेदरल्याण्ड्ससँग २० रनको हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा थाइल्याण्डसँग ४ विकेटले पराजित भयो ।
दोस्रो खेलको नतिजा
दोसो खेलमा नेपालले शनिबार थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको हो । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १०१ रन बनायो ।
कविता कुँवर र बिन्दू रावलले समान २५ तथा कप्तान इन्दू बर्माले १५ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याटरले दोहोरो स्कोर खडा गरेनन् ।
डेब्यु खेलाडीद्वय अलिशा यादव अविजित २ तथा मनिषा उपाध्याय १ रनमा अविजित रहे । थिपात्चा पुथावोङले ३ विकेट लिइन् ।
जवाफमा थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गर्यो । प्लेयर अफ द म्याच नानापत कोन्चारोएन्काईले ५८ बलमा अविजित रहँदै ६० रन जोडिन् ।
नेपालका लागि डेब्यु खेलाडी मनिषा उपाध्यायाले २ तथा कविता कुँवर, रुबिना क्षेत्री र कविता जोशीले १–१ विकेट लिए ।
पहिलो खेलको नतिजा
नेपालले कमजोर शुरुआत गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग २० रनको हार बेहोर्यो ।
जितका लागि नेपालले १५८ रनको चुनौती पछ्याउने क्रममा ७ विकेटको क्षतिमा १३७ रन बनायो । सीता राना मगरले ४५ बलमा २८, कविता जोशीले १७ बलमा २७ तथा पूजा महतोले १४ बलमा २४ रन बनाए बाहेक अन्य ब्याटरले उल्लेखनीय खेल्न सकेनन् ।
नेदरल्याण्ड्सकी क्यारोलिन डे लाङ्गे र इभा लिन्चले समान २–२ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १५७ रन बनायो ।
रोविने रिज्केले ४८ बलमा अविजित रहँदै ५९ तथा आइरिस विलिङले १३ बलमा अविजित रहँदै ३१ रन जोडिन् ।
यहाँनेर नेपाली टोलीकी कप्तान इन्दू वर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय विफल भएको थियो ।
नेपालका लागि यू–१९ टिमकी कप्तान पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सीता राना मगरले एक एक विकेट लिए ।
घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरेको हो । महिला टी–२० वरीयतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २० औँ स्थानमा छ ।
यो श्रृंखलाको खेल्ने शैली
सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।