जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप बढ्दै गयो - राष्ट्रपति पौडेल [भिडियो]
लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
599
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरू बढ्दै गएको बताएका छन् । आइतबार काठमाडौंमा पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण नेपाली समुदायमा गहिरो प्रभाव परेको बताए ।
उनले विकसित देशहरूको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोग्नु परिरहेको बताए । उनले नेपाल वातावरणीय प्रकोपका निर्दोष पीडित भएको बताए । नेपालले विकसित मुलुकले गरेको अन्यायहरूलाई सम्बोधन गर्न र दिगो तथा समतामूलक भविष्यतर्फ काम गर्न ल एसिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त न्यायको अपेक्षा गरेको बताए ।
राष्ट्रपति पौडेलले भने, ‘आज लोकतन्त्रप्रति नेपालको प्रतिविद्धताले हामीलाई विश्वव्यापी रूपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा समेत महत्त्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको छ । म यो अवसरमा नेपाल लगायत एसिया प्रशान्त क्षेत्रका मानव अधिकार रक्षकहरूको प्रशंसा गर्न चाहन्छु । हिमालयको मुटुमा अवस्थित नेपाल प्राकृतिक सौन्दर्य र श्रोत साधनले भरिपूर्ण देश हो । तर पछिल्लो समयमा जलवायु परिवर्तनका कारण हाम्रो समुदायहरूमा गहिरो प्रभाव परेको छ । जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरू बढ्दै गएका छन् । विकसित देशहरूको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोगेको छ । हामी यी वातावरणीय प्रकोपका निर्दोष पीडित हौँ । यी अन्यायहरूलाई सम्बोधन गर्न र दिगो तथा समतामूलक भविष्यतर्फ काम गर्न हामीले ल एसिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त न्यायको अपेक्षा गरेका छौँ ।’
राष्ट्रपति पौडेलले मानव अधिकार, सामाजिक तथा वातावरणीय न्याय समावेशी चरित्रका अधिकारका विषयवस्तुहरू न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि महत्त्वपूर्ण रहेको बताए । लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकार यसको जीवन रेखा भएको उल्लेख गर्नुभयो । कानून व्यवसायीहरू विधिको शासनको पहरेदार र लोकतन्त्रको रक्षक भएको बताए ।