ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइन - मन्त्री गुरुङ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
547
Shares
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजा वीरेन्द्र वा पूर्वराजा ज्ञानेन्द्र शाहको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल आउनुलाई क्रान्ति नभनिने टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम तथा पञ्चमार्क मुद्रा र भित्रिकोट दरबार अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्ति राजा वीरेन्द्र, पूर्वराजा ज्ञानेन्द्रको ठाउँमा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउनुलाई क्रान्ति नभनिने बताए ।
उनले क्रान्ति इतिहासमा, समाजमा, कृषि, विद्युत्, उत्पादन प्रणाली र विज्ञान प्रविधिमा देखिनुपर्ने बताए । मन्त्री गुरुङले राजनीतिक क्रान्तिको रापले यी विषयहरू छुन नसकेको बताए ।
मन्त्री गुरुङले भने, ‘जेजे भइरहेको छ, त्यो मात्रै होइन हरेक चिजमा चेन्ज आउनुपर्यो । केही न केही परिवर्तन हुनुपर्यो । अनि न क्रान्ति भयो । क्रान्ति भनेको खालि वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा अब अहिले केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउँदैमा मात्रै क्रान्ति हुँदैन नि । क्रान्ति भनेको त हाम्रो इतिहासमा देखिनुपर्यो, समाजमा देखिनुपर्यो । हाम्रो कृषिमा देखिनुपर्यो । हाम्रो बिजुलीमा, उत्पादन प्रणालीमा, हरेक चिजमा देखिनुपर्यो । हाम्रो विज्ञान प्रविधिमा देखिनुपर्यो । राजनीतिक क्रान्तिको रापले यस्ता कुराहरू छोएको छैन । त्यो छुने अब हामीले बनाउनुपर्छ । यसलाई आधुनिकीकरण र व्यवस्थापन गर्ने कुरामा पनि हामीअघि बढ्नुपर्छ ।’