प्रकृति मृत्यु प्रकरणमा ओडिसा सरकारले केआईआईटीका थप चार अधिकृतलाई बोलायो बयानमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
843
Shares
तस्बिर – फाइल ।
ओडिसा । भारतको ओडिसा सरकारले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बीटेककी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालले 'मृत्यु प्रकरण' को अनुसन्धान तीव्र भएको छ । नेपालले सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरिरहेको छ ।
साथै ओडिसा सरकारले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको छ र मंगलबारमात्रै केआईआईटी कलेजका थप ४ अधिकारीहरूलाई उच्च स्तरीय समितिमा उपस्थित हुन बोलाएको छ।
उच्च शिक्षा विभागका अनुसार केआईआईटीका प्रमुख प्रोक्टर पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक समिति प्रमुख इप्सिता सत्पाथी र सहायक निर्देशक स्म्रिका पाटी र निजी कलेजका धेरै वरिष्ठ अधिकारीहरूलाई बोलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
समाचार अनुसार उनीहरूलाई फ्रेबुअरी २७ तारिख बिहीबार अतिरिक्त मुख्य सचिव (गृह) सत्यब्रत साहुको नेतृत्वमा रहेको समितिमा उपस्थित हुन भनिएको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि फ्रेबुअरी २१ मा पनि केआईआईटीका संस्थापक अच्युत सामन्तसहित सो कलेजका ७ जना उच्च अधिकारीले समिति समक्ष हाजिर भई बयान दिएका थिए ।
नेपाली विद्यार्थीलाई मात्र छात्रावास छाड्न नोटिस किन दिइयो ? भन्ने प्रश्न सोधिएको थियो भने मृतक युवतीले एक महिनाभन्दा बढी समयदेखि दिएको दुर्व्यवहारको उजुरीमा किन कारबाही नगरेको ? भन्दै उनीहरुलाई सोधिएको थियो ।
‘सामन्त र अन्यलाई पनि नेपाली विद्यार्थीहरू विरुद्ध कथित जातीय दुर्व्यवहारको बारेमा बारम्बार सोधपुछ गरिएको थियो,’ एक अधिकारीले भारतीय सञ्चारमाध्यमलाई जनाएका छन् ।
नेपाली विद्यार्थीको आत्महत्याको घटनापछि ओडिसा सरकारले फ्रेबुअरी १८ मा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । कथित आत्महत्यामा निम्त्याउने अवस्था, कलेज प्रशासनले गरेको कथित कारबाही, विद्यार्थीहरूको एक निश्चित समूह (नेपाली)लाई मात्र सूचना जारी गर्ने र उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने जस्ता कार्यहरू गरिए पछि सो समिति गठन भएको हो ।
यसका साथै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाका सम्बन्धमा उचित कारबाही गर्न र आत्महत्या गरेको आरोपमा पीडित नेपाली विद्यार्थीलाई न्याय दिन भारत सरकारसँग आग्रह गरेका थिए । साथै ओली सरकारले नेपाली विद्यार्थीका लागि स्वस्थ शैक्षिक वातावरणको प्रत्याभूति गर्न प्रदेश सरकारलाई आग्रह गरेको जनाइएको छ । परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले शुरुआतदेखि नै कूटनीतिक पहल थालेकी थिइन् ।
थप रूपमा नेपालले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीलाई पनि नेपाली विद्यार्थीहरू माथी भएको कथित उत्पीडनमा संलग्न किटका शिक्षक र कर्मचारीहरूलाई संस्थानबाट स्थायी रूपमा बर्खास्त गर्न सुनिश्चित गर्न अनुरोध गरेको छ।
गत फ्रेबुअरी १६ मा कलेजमा तेस्रो वर्षमा अध्ययनरत नेपाली कम्प्युटर साइन्सकी छात्रा छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि कलेजमा तनावको वातावरण बनेको छ ।
जसले नेपाल भारत सबन्धमा नै असर पारेपछि उडिसा सरकारले गम्भीर छानबिन शुरू गरेको हो ।