मुगुमा महिलाहरूको अनुपम यात्रा, नेतृत्व र समानताका लागि अभियान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
1.1k
Shares
काठमाडौँ । महिलाहरूलाई नेतृत्व र निर्णायक तहमा पुर्याउन उद्देश्यले मुगुमा सोमबार महिला अधिकारकर्मीहरूले अनुपम यात्रा गरेका छन्। महिला अधिकार केन्द्र मुगुको आयोजनामा सम्पन्न यस यात्रामा जिल्लाका विभिन्न राजनीतिक दलमा आबद्ध महिला नेतृहरू, अधिकारकर्मीहरू, तथा विभिन्न पेशा व्यवसायमा संलग्न महिलाहरूको सहभागिता रहेको थियो।
अन्तर-पुस्ता महिलावादी मञ्चले २०२४ देखि देशव्यापी रूपमा सञ्चालन गरिरहेको अनुपम अभियान को यस यात्रालाई देशव्यापी महिलावादी अनुपम अभियान नाम दिइएको छ। अभियानको शुरुवात आईजफएफएफले गरे पनि विभिन्न जिल्लामा महिला अधिकार सम्बन्धी काम गर्ने स्थानीय संघ-संस्थाहरूले यसको नेतृत्व गरिरहेका छन्।
महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष शुकमाया शाहीका अनुसार अभियानको दोस्रो वर्षमा पूर्वदेखि पश्चिमसम्म बस यात्राका माध्यमबाट महिलाहरू एकजुट गरिँदैछ। यात्रालाई पछ्याउँदै प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यी अभियानहरूले महिला अधिकार, सशक्तीकरण, र नेतृत्व विकासका लागि छलफल तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेका छन्।
शाहीका अनुसार पाँचवर्षे अभियानको मुख्य लक्ष्य न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पुर्याउनु हो। उनले पछाडि पारिएका समुदाय तथा महिलाहरूको आवाज बुलन्द गर्दै, उनीहरूलाई हरेक तहमा निर्णायक भूमिकामा पुर्याउने लक्ष्य रहेको बताइन्। साथै, आर्थिक, सामाजिक, र राजनीतिक रूपमा महिलाहरूलाई सक्षम बनाउन अभियानले योगदान गर्नेछ।
नेपाली कांग्रेस मुगुकी नेतृ सूर्यदेवी मल्लका अनुसार यस्ता अभियानले महिलाहरूलाई राजनीतिमा अगाडि बढ्न उत्प्रेरित गर्छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रकी नेतृ इटोल लामाले महिलाहरू नेतृत्व तहमा पुग्दा पनि आर्थिक र सामाजिक रूपमा कमजोर भएका कारण प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै, यस्ता अभियानले उनीहरूलाई सक्षम बनाउने बताइन्।
अनुपम यात्राका सहभागी महिलाहरूले प्लेकार्डसहित नाराबाजी गर्दै गमगढी बजार परिक्रमा गरेका थिए। अभियानको मुख्य नारा “०८४ मा महिला हुनुपर्छ पहिला” तय गरिएको छ। अभियानकर्ताहरूले २०८४ को निर्वाचनमा वडा, पालिका, प्रदेश, तथा सङ्घीय तहमा महिला उम्मेदवारहरूलाई पार्टीगत नहेरी सबै महिलाहरूले सहयोग गर्नुपर्ने बताउँदै निर्णायक नेतृत्वमा पुर्याउने संकल्प व्यक्त गरेका छन्।