त्यस्तो लडाइँको बीचमा त डराइएन, राजावादीहरूको प्रदर्शनले केही हल्लाएको छैन - प्रचण्ड [भिडियो]
यसको जिम्मेवारी सरकारले लिनुपर्ने, काउन्टरमा जानेबारे सल्लाह गरिरहेको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
549
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राजावादीहरूको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा प्रचण्डले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’
प्रचण्डले यसको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए । उनले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताए । उनले राजावादीहरूको प्रदर्शनको काउन्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जवाफ दिए ।
उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढङ्गले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ । जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौँ ।’
प्रचण्डले सरकार अझै पनि नागरिकप्रति उत्तरदायी नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको जिकिर गरे ।