सात राजनीतिक दललाई धोका नदिएको भए अझै केही वर्ष राजतन्त्र टिक्न सक्थ्यो -प्रचण्ड [भिडियो]
भिलेनको रूपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्त्वपूर्ण छ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
682
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रूपमा सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरूले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्कालिन राजा शाहले भिलेनको रूपमा भूमिका खेलेको टिप्पणी गरे ।
उनले पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलाई सहयोग गरेको बताए । सात राजनीतिक दलहरूमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने जिकिर उनको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ सङ्कल्पको आधार पूर्वराजा शाहले तयार पार्नुभएको बताए ।
प्रचण्डले भने, ‘गणतन्त्रको निम्ति आधार तयार हामीले पा¥यौँ । र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो । उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष..। उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे । भिलेनको रूपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्त्वपूर्ण छ । अहिले पनि फेरि राजतन्त्र पुनः स्थापनाको कला विहीन नाटक प्रदर्शन गरिएको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ सङ्कल्पको आधार तयार पारेका छन् । फेरि पनि ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ । कथा, साहित्य, उपन्यास हिरोले मात्रै चल्दैन, भिलेन पनि चाहिन्छ । भिलेन सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ । भिलेन अलि खतरनाक भएर आयो भने तागतका साथ काम गर्दछ ।’
प्रचण्डले अहिले संविधान संशोधन नभई समीक्षाको जरुरी रहेको बताए । उनले संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको बताए । उनले सबै शक्तिहरू एक ठाउँमा आएर समीक्षात्मक बहस शुरु गरेपछि मात्रै संशोधनले सही आकार लिन सक्ने जिकिर गरे ।
प्रचण्डले भने, ‘मैले विभिन्न मञ्चबाट अब संविधानबारे समीक्षा बहस शुरु गरौँ । यो समीक्षा सबै राजनीतिक दल, सबै राजनीतिक शक्तिहरू सहभागी भएर समीक्षा गरौँ । जसले संविधान सभाबाट संविधान घोषणा गर्ने झन्डै ७० वर्ष पुरानो एजेन्डालाई स्थापित गरेका थिए । ती सबै शक्तिहरू एक ठाउँमा आएर समीक्षात्मक बहस शुरु गरेपछि मात्रै संशोधनले सही आकार लिन सक्छ । यसको निम्ति म सबैलाई आग्रह गर्दछु ।’