ग्लोबल आइएमई बैङ्क र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
507
Shares
काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन्।
यस सम्झौताअनुसार, विश्व बैङ्क समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैङ्कको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटि मूल्याङ्कन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरू पहिचान गर्ने र बैङ्कको डिजिटल बैङ्किङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ।
साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैङ्कलाई सल्लाह प्रदान गर्नेछ।
यस समझदारीपश्चात् बैङ्कमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूलाई रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवाहरू विकास गर्न सहज हुने विश्वास बैङ्कले लिएको छ।
ग्लोबल आइएमई बैङ्कले आफ्नो ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैङ्किङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै यस सम्झौताले बैङ्कको डिजिटल बैङ्किङको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए।
उनले डिजिटल बैङ्किङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरिबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैङ्किङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैङ्किङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।
विश्व बैङ्क समूहको सदस्य संस्था आईएफसीले विकासशील देशहरूमा निजी क्षेत्रको प्रवर्द्धन र विकास, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा काम गर्छ।