शुक्रबारे हिंसामा संलग्न रहेको आरोपमा राप्रपा नेता मिश्र, राणा र स्वागतसहित १११ लाई अदालत लगिँदै
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
763
Shares
काठमाडौँ । गत शुक्रबार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेकामाथि मुद्धा चलाइने भएको छ । शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा लगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो ।
राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई म्याद थपका लागि अदालत लगिँदैछ । मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राति पक्राउ परेका थिए कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन् ।
यद्यपि उनीहरुलाई कुन मुद्दा चलाइने भन्ने अझै यकिन नभएको पाइएको छ ।
शुक्रबार राजावादीले गरेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो । विवादित मेडिकल व्यवसायी एवं फौजदारी अभियोगी दुर्गा प्रसाईंको नेतृत्वमा शुरु भएको थियो । प्रदर्शन अराजक बनेपछि मिश्र, राणालगायत पक्राउ परेका हुन् ।
पक्राउ परेको दुई दिन बित्दा पनि उनीहरूमाथि के मुद्दा चलाउने भन्ने टुंगो लागेको छैन । उनीहरुलाई साँझ ५ बजेभित्र अदालत बुझाउने गरी तयारी थालिएको छ ।
प्रहरीले शुक्रबारको प्रदर्शनमा अराजक गतिविधि गर्ने १११ जनालाई पक्राउ गरेको छ । तर नाइके दुर्गा प्रसाईंलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । उनी ललितपुरमा लुकेको शंकामा प्रहरीको तीन टोली खोजीमा लागेको छ ।