राजावादीको हिंसाविरुद्ध नेकपा एसले देशभर भण्डाफोर प्रदर्शन गर्ने [भिडियो]
आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएको ठहर
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
630
Shares
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापी रूपमा भण्डाफोर र विरोध गर्ने निर्णय गरेको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारबाही माग गर्ने निर्णय भएको समेत जानकारी दिए ।
उनकाअनुसार बैठकले अराजकतावादीहरूको प्रदर्शनमा उचित ढङ्गले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएको ठहर गरेको छ । उनले प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई उचित क्षतिपूर्ति दिन माग समेत गर्नुभयो । उनले सञ्चार गृहमाथि आक्रमण गरेर प्रस स्वतन्त्रता कुण्ठित गर्ने दुष्प्रयास गरिएको भन्दै उक्त आक्रमणप्रति पार्टीले निन्दा व्यक्त गरेको बताए ।
बैठकका निर्णय सुनाउँदै उनले भने, ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को काठमाडौं आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको निवास लगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनी विरुद्ध यही चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ ।’
सरकारले उचित सुरक्षा व्यवस्थापन गर्न नसकेको कारण भौतिक क्षति भएको समेत पार्टीको ठहर छ ।