arrow

चार देशीय टी–२० मा कुवेतलाई हराउन नेपाल एक सय ८६ रनको चुनौती पछ्याउँदै

सोमपाल कामीले ३, नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले लिए समान १–१ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
cricket-nep-kuw-2025.jpg

काठमाडौँ । हङकङमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ । 

नेपालले जितका लागि १८६ रनको चुनौती पछ्याउँदैछ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो । 

कुवेतका लागि क्लिन्टो एन्टोले ३० बलमा ४१, मिट भाब्सरले २८ बलमा ३५ तथा बिलाल ताहिरले १३ बलमा ३२ रन बनाए । 

नेपालका लागि सोमपाल कामीले ३६ रन खर्चेर ३, नन्दन यादवले ३४ रन खर्चेर २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १–१ विकेट लिए । 

नेपाल र कतारकाे खेल
नेपालले बुधबार बिहान भएको पहिलो खेलमा कतारमाथि ८ विकेटको शानदार जित हासिल गरेको हो । 

आक्रामक ब्याटिङ गरेको नेपालले एक सय ५२ रनको चुनौती मात्र १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । 

पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले १९ बलमा ३८ तथा आसिफ शेखले २१ बलमा ३३ रन बनाए । 

त्यस्तै तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले २९ बलमा अविजित रहँदै ३७ तथा बसिर अहमदले ३३ बलमा अविजित रहँदै ३० रन बनाए । 

दुवै विकेट मुजिब उर रहमानले लिएका हुन् । यसअघि हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको कतारले ५ विकेटको क्षतिमा १५१ रन बनायो । 

कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५४ बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राववंशीले १–१ विकेट लिए ।

अंक तालिका
चार दशीय प्रतियोगितामा नेपाल, कतार, कुवेत र हङकङ रहेका छन् । पहिलो खेलमा कुवेतले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । 

यो आधारमा नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । कुवेत दोस्रो, हङकङ तेस्रो तथा कतार चौथो स्थानमा छ । 

नेपालले शनिबार हङकङसँग खेल्नेछ । अंक तालिकाको शीर्ष दुईमा रहने टोलीले आइतबार फाइनल खेल्नेछ । तेस्रो र चौथो हुने टिमले तेस्रो स्थानका लागि आइतबारै खेल्नेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ