आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट न्यायमा नागरिकको सहज पहुँच स्थापित गर्नुपर्छ - राष्ट्रपति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
648
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्न जोड दिएका छन् । शुक्रबार काठमाडौंमा कानून दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य, मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था वृद्धि गर्न जरुरी रहेको उल्लेख गरे ।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको बताए ।
राष्ट्रपति पौडेलले भने, ‘नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको छ । यी मूल्य, मान्यताहरूप्रति प्रतिबद्ध रहँदै सोको संरक्षण र प्रवर्द्धन गर्ने एवं न्यायपूर्ण समाज निर्माण गर्ने सन्दर्भमा न्याय र कानून जगतको महत्त्वपूर्ण दायित्व रहने हुँदा आजको यस दिनले न्याय र कानूनको क्षेत्रमा आबद्ध सबैको मन र मस्तिष्कमा उत्तरदायित्वको बोध निरन्तर गराइरहनेछ । नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य, मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था वृद्धि गर्ने सुनिश्चितताका लागि यो कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् ।’
राष्ट्रपति पौडेलले मूल्य, मान्यताहरूप्रति प्रतिबद्ध रहँदै सोको संरक्षण र प्रवर्द्धन गर्ने एवं न्यायपूर्ण समाज निर्माण गर्ने सन्दर्भमा न्याय र कानून जगतको महत्त्वपूर्ण दायित्व रहेको बताए ।