रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाँदै छौँ - प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २७ शनिबार
653
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गरे ।
चुनौतीका विरुद्ध लड्ने सङ्कल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उनको जिकिर छ । प्रचण्डले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुबिरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाउनु भयो । उनले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताए ।
प्रचण्डले भने, ‘नेताहरूप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भने पनि गलत हुन्छ । त्यसको विकृत तरिकाले बुझ्यो भने त झन् गलत हुन्छ । प्रत्येक पार्टी र नेताहरूका पनि सीमा हुन्छन् । कमजोरी पनि हुन्छन् । महान् लेनिनले भनेको झैँ: सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन । कुनै पार्टी पनि जन्मिएको छैन । जन्मिदा पनि जन्मिँदैन । सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ । त्यसलाई नै इतिहासले महान् भन्छ । त्यसलाई नै जनताले आदर्शका रूपमा हेर्दछन् । अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरू हाम्रो अगाडि यतिबेला छन् । हामी ती चुनौतीका विरुद्ध लड्ने सङ्कल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ । हामीले यसो गर्न खोजे बापत प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो विरुद्ध घेराबन्दी गर्ने, हाम्रा विरुद्ध भ्रमहरू छर्ने, अनेक किसिमको षड्यन्त्रहरू भएका छन् । यो स्वाभाविक रूपले भई पनि राख्छन् ।’