सगरमाथा संवादका विशिष्ट पाहुनाले गरे सगरमाथासहित अन्य हिमालको आकाशबाटै अवलोकन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
671
Shares
काठमाडौं । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनाहरूलाई आज पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत हिमशृङ्खलाको दृश्यावलोकन गराइएको छ। उनीहरूले सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमशिखरहरूको मनोरम दृश्य आकाशबाट अवलोकन गरेका हुन्।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुनाहरू ‘माउन्टेन फ्लाइट’मा सहभागी भएका थिए। यस उडानको समन्वय परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा गरेका थिए। करिब एक घण्टा लामो यो उडानमा सहभागीहरूले नीलो आकाशमुनि चाँदीका घेराजस्तै टल्कने हिमालहरूको सुन्दर दृश्य नियालेका थिए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनाहरूलाई ‘माउन्टेन फ्लाइट’ गराइएको जानकारी दिए।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आयोजित अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ।
नेपालका केही निजी वायुसेवा कम्पनीहरूले नियमित रूपमा पर्वतीय उडान सञ्चालन गर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे हुने यो उडान करिब एक घण्टाको हुन्छ, जसमा सगरमाथा, मकालु, नुप्से, गौरीशंकरलगायत अन्य हिमशृङ्खलाहरूको मनमोहक दृश्य देख्न सकिन्छ।