नेपाल जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रूपमा स्थापित : डा. आयान बनर्जी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
636
Shares
काठमाडौं । प्राक्टिकल एक्सनका एशिया क्षेत्रीय निर्देशक डा. आयान बनर्जीले सगरमाथा संवादले नेपाललाई जलवायुजन्य जोखिम समुदायको लागि समाधान खोज्ने नेतृत्वकर्ताको रूपमा स्थापित गरेको बताएका छन्।
विज्ञ बनर्जीले सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर हिमालदेखि समुन्द्रसम्मको पारिस्थितिकीय प्रणालीमा आधारित समाधान खोज्ने नेपाल सरकारको प्रयासको प्रशंसा गरे। उनले जलवायु परिवर्तन र वित्त सम्बन्धी पहललाई तीव्रता दिँदै बहु-सरोकारवाला संवादको सुरुवात गरेर नेपालले विश्वलाई सकारात्मक सन्देश दिएको उल्लेख गरे। सगरमाथा संवाद आफैंमा महत्त्वपूर्ण रहेको भन्दै उनले जलवायु कार्यमा देखिएको स्रोत पहुँचको दूरी कम गर्ने सवालमा पनि संवादले पैरवी गरेको बताए।
नेपाल आएका डा. बनर्जीले क्षेत्रीय स्तरमा बहस छलफल गर्न सगरमाथा संवादजस्तो बहु-देशीय र बहु-सरोकारवाला गठबन्धन आवश्यक रहेकोमा जोड दिए। उनले जलवायु परिवर्तनले निम्त्याएको प्रकोपको गति हाम्रा कार्यभन्दा तीव्र हुने भएकाले पूर्वसूचना प्रणालीलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। तत्काल जलवायु वित्तसम्मको पहुँच कमजोर भएकाले स्रोतसम्मको पहुँच र वकालतमा सगरमाथा संवादजस्ता बहु-सरोकारवाला मञ्चले सकारात्मक र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।
सगरमाथा संवादले नेपाललाई जलवायु संकटको अग्रपङ्क्तिमा रहेका समुदायहरूका लागि समाधान खोज्ने नेतृत्वकर्ताको रूपमा स्थापित गर्ने अपेक्षा डा. बनर्जीको छ। उनले नवीन प्रविधिहरूले जलवायु संकटको प्रभावलाई न्यूनीकरण गर्ने सम्भावना बोकेकाले एआई लगायतका प्रविधिलाई समस्या समाधानको हिस्साको रूपमा अघि बढाउन आवश्यक रहेको बताए। प्राक्टिकल एक्सनले लामो समयदेखि नेपालमा जलवायु परिवर्तन, पूर्वसूचना प्रणाली र नवीकरणीय ऊर्जामा काम गर्दै आएको छ।