पतञ्जली जग्गा प्रकरण: अख्तियारमा प्रतिवेदन पठाउने लेखा समितिको निर्णय [भिडियो]
समितिमा आएका उजुरीहरूबारे अध्ययन गर्न गठित सात वटा उपसमितिको समय एक महिनाका लागि थप गर्ने निर्णय
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
724
Shares
काठमाडौँ । संसदीय समितिले पतञ्जलीको जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकले यो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय तथा विभिन्न निकायमा सोधपुछ गरी प्रतिवेदन तयार पारिएको बताए। उनले उक्त प्रतिवेदनलाई थप अनुसन्धान र आवश्यक प्रक्रिया अगाडि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले सार्वजनिक लेखा समितिमा आएका उजुरीहरूबारे अध्ययन गर्न गठित सात वटा उपसमितिको समय एक महिनाका लागि थप गर्ने निर्णय पनि गरेको छ।
सभापति पोखरेलले लामो समयदेखि उपसमितिहरू निर्माण गरेर उजुरीहरूलाई समान समय र प्राथमिकता दिई सम्पन्न गर्ने तयारी गरिएको भए पनि समय नपुगेको बताए। उनले अब शीघ्र र अलिखित हिसाबले एक महिनाभित्र सम्पन्न गर्ने गरी समय थप गरिएको जानकारी दिए।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा कसैको पनि अविश्वास नरहेको र थप अनुसन्धानका लागि अख्तियारमा पठाइसकेको जानकारी पनि सभापति पोखरेलले दिए।