माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको पार्टी समायोजन
समाजवादी क्रान्तिको तयारीका लागि कम्युनिस्ट एकता प्रक्रियामा अघि बढ्दैछौं - प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
626
Shares
ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समाजवादी क्रान्तिको तयारीका लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा आफूहरू अगाडि बढिरहेको बताएका छन्।
सोमबार ललितपुरमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीचको पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले विभिन्न उतारचढावका बीच आजको दिनसम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भने पनि यसको सार एउटै भएको स्पष्ट पारे। उनले आफूहरू गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीमा लागिरहेको जिकिर गरे।
दाहालले २०६४ को निर्वाचनमा प्राप्त गरेको जनमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसले नेपाली सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति पुर्याएको बताए। उनले उक्त विभाजनले शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भएको धारणा राखे।
संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया सुरु भएको र आफूहरू सबै त्यो प्रक्रियामा अगाडि बढिरहेको दाहालले दाबी गरे। उनले समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जाने विश्वास व्यक्त गरे।
"केही उतारचढावका बीच आजको दिनसम्म आइपुगेका छौँ," उनले भने, "यसले स्पष्ट सन्देश दिएको छ, पार्टी एकताको, समायोजनको, एकीकरणको, जे भने पनि सार एउटै हो। हामी एउटा गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडि बढिरहेका छौँ।"
प्रचण्डले नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो सुरुवात भएको पनि बताए।