ब्रिटिश गोर्खा र एनआरएनएलाई नागरिकता: सरकारले स्पष्ट धारणा बनाउनुपर्छ - सभापति खतिवडा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
805
Shares
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ब्रिटिश गोर्खामा भर्ती भएका नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिक (एनआरएनए) लाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै खतिवडाले ब्रिटिश गोर्खा र एनआरएनएहरूलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए। उनले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको तर विदेशी नागरिकहरूलाई नेपालको नागरिकता दिने कुरा सस्तो बनाउन नहुने बताए।
सभापति खतिवडाले भने, "हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहुन्, अन्य विदेशीहरूलाई खुला पनि नगरौं। हामी सबैको चाहना पनि त्यही हो। त्यही धारणासाथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छौं। हामी चाहे ब्रिटिश गोर्खाका नेपाली नागरिक वा एनआरएनए नेपाली हौं। उहाँहरूको समस्या समाधान गर्न पनि सरकार अघि बढोस्। त्यसलाई कसरी समाधान गर्न सकिन्छ, सरकारको एउटा धारणा आओस्।"
बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ। बिहीबारबाट दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिए।