माधव नेपालमाथि राजनीतिक प्रतिशोध साधिएको एसको आरोप, मुद्दाको कानूनी प्रतिवाद गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
554
Shares
तस्बिर फाइल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा दर्ता गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीसहितका नेताहरूको छलफलपछि बोल्दै पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले षड्यन्त्रमूलक ढङ्गबाट अध्यक्ष नेपालमाथि प्रतिशोध साधिएको बताएका हुन्। उनले आफ्नो पार्टीलाई सिध्याउनका लागि पहिलादेखि नै प्रयास हुने गरेको उल्लेख गर्दै अहिले पार्टी अध्यक्षलाई षड्यन्त्रमूलक ढङ्गबाट मुद्दा दायर गरिएको दाबी गरे। ज्वालाले यस्ता षड्यन्त्रहरूलाई पराजित गर्दै र प्रतिकार गर्दै अघि बढ्ने बताए।
उपाध्यक्ष ज्वालाका अनुसार, अध्यक्ष नेपालमाथि मुद्दा दायर गर्नु पार्टीलाई कमजोर बनाउने उद्देश्यप्रेरित रहेको छ। उनले अध्यक्ष नेपालले सार्वजनिक पदको दुरुपयोग गरेर कुनै भ्रष्टाचारजन्य काम नगरेको र आर्थिक चलखेल पनि नगरेको दाबी गरे। "आजसम्मको उहाँको व्यवहार, कार्यशैलीले विभिन्न ओहोदामा पुग्दा पनि निष्कलंक छवि, स्वच्छ छवि लिएर उहाँ फर्कनुभएको छ," ज्वालाले भने। उनले अदालतबाट सफाई पाएर निस्कनेमा आफूहरू विश्वस्त रहेको पनि बताए।
उपाध्यक्ष ज्वालाले भने, "हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको सन्दर्भमा अध्यक्ष कमरेड काठमाडौं फर्किसकेपछि हामी उपलब्ध नेताहरू बस्यौँ, छलफल गरेका छौँ। यो घटनाको बारेमा विश्लेषण गरेका छौँ। हाम्रो पार्टी र नेताहरूका विरुद्धमा पहिलादेखि नै षड्यन्त्रहरू हुँदै आएका थिए। पहिलादेखि नै हामीमाथि प्रहार हुँदै आएको थियो। यस्ता षड्यन्त्रहरू पराजित, प्रतिकार गर्दै आयौँ। आज फेरि भ्रष्टाचारको मुद्दा अध्यक्ष कमरेडलाई दायर गरिएको छ। यो षड्यन्त्र राजनीतिक प्रतिशोध, पूर्वाग्रहका हिसाबले हाम्रो पार्टीलाई कमजोर बनाउने उद्देश्यले गरेको छ। यसको विरोध गर्छौं, प्रतिरोध गर्दछौँ। मुद्दा परिसकेपछि मुद्दाबाट हामी भाग्दैनौँ।"
उनले आफूहरू कानूनी प्रक्रियामा जाने र अदालतबाट 'क्लिन चिट' लिएर निस्कने विश्वास व्यक्त गरे। पार्टी पंक्तिमा भ्रम पर्नु नपर्ने र पार्टी निरन्तर रूपमा सक्रियताका साथ अघि बढ्ने उनको भनाइ थियो।
उपाध्यक्ष ज्वालाले मन्त्रिपरिषद्का नीतिगत निर्णयहरूमा अख्तियारले छानबिन गर्न पाउने बाटो खुलेको बताए। उनले अध्यक्ष नेपालमाथि योजनाबद्ध रूपमा फसाउने उद्देश्यबाट मुद्दा चलाइएको र माधव नेपालले भ्रष्टाचार गर्यो भन्दा कसैले पनि नपत्याउने दाबी गरे। माधव नेपालको स्वच्छ छविबाट ईर्ष्या गर्ने सत्तापक्षबाट षड्यन्त्रपूर्वक मुद्दा चलाएको उनको आरोप छ।