छानबिन समिति बनाउन सत्तापक्ष तयार नै देखिएको छ, छिट्टै संसदको अवरोध हट्छ - प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
777
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध केही दिनभित्रै हट्ने बताएका छन्।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बालुवाटारमा भएको बैठकपछि बिस्तारै प्रगति भइरहेको बताए। दाहालका अनुसार, भरपर्दो छानबिनमा सरकारको प्रतिबद्धता आए संसदको अवरोध हट्नेछ।
उनले सत्तापक्ष छानबिन गर्न सहमत नै देखिएको तर छानबिन समिति बनाउने, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति नभएको जानकारी दिए।
प्रचण्डले भने, "अस्ति हामी बालुवाटारमा बसेपछि बिस्तारै वातावरण सहजीकरण गर्ने कोसिस भइरहेको छ। दिन प्रतिदिन थोरै थोरै भए पनि प्रगति भएको छ। छानबिन मुख्य कुरा हो। भरपर्दो छानबिनमा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढङ्गले टुङ्ग्याउन सकिन्छ भन्ने प्रतिपक्षको कुरा भयो। यस बारेमा नेपाली काँग्रेसका सभापतिसँग एक पटक कुरा गर्न उचित हुन्छ भन्ने पनि भयो। भर्खरै फेरि सत्तापक्ष नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्यामजी लगायतसँग पनि कुरा भयो। आज सदन नचलाउने, सूचना टाँसेर जाने भन्नेमा सहमति भएको छ। मलाई लाग्छ, एक दुई दिनभित्रमा यो विषयमा सकारात्मक ल्यान्डिङ हुन्छ। सत्तापक्ष छानबिन गर्न सहमत नै देखिएको छ।"
उनले थपे, "छानबिन समिति बनाएर जाने, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन गर्ने वा केही अर्को गर्ने भन्ने विषयमा सहमति भएको छैन। अर्को कुरा अख्तियारमा भिजिट भिसा प्रकरणमा छानबिन सुरु भएको हुनाले त्यसको कुरा विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन कि भन्ने तर्क पनि सत्तापक्षको छ। यो विषय पनि छलफलमै छ।"
दाहालले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानबिन सुरु भएकाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउनु नहुने भन्ने तर्क पनि सत्तापक्षको रहेको बताए।