arrow

समृद्ध नेपालका लागि विज्ञान र प्रविधिको प्रयोग अपरिहार्य - पूर्वराष्ट्रपति भण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
bidhyadevi-24.jpg

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाउन तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन्।

नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिबार उद्घाटन गर्दै भण्डारीले यस्तो बताएकी हुन्।

उनले भविष्यका जिम्मेवार नागरिक अर्थात् विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु सरकारको दायित्व भएको बताइन्। विज्ञान केवल प्रयोगशालामा सीमित रहने विषय नभई मानिसको सोच र चिन्तनलाई सही निष्कर्षमा पुर्‍याउने प्रभावकारी प्रक्रिया भएको उनको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले राज्यको तर्फबाट विज्ञान, प्रविधि र गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। यस क्षेत्रका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको पनि उनले बताइन्।

"हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु हाम्रो दायित्व हो," उनले भनिन्। विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरूमा पर्याप्त साधन, स्रोतसहितका प्रयोगशाला, दक्ष शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बनेको उनको भनाइ थियो।

भण्डारीले नेपालमा मुलुकको समृद्धिका लागि चाहिने उपयोगी प्राकृतिक स्रोत, साधन र सम्पदाहरू प्रचुर मात्रामा उपलब्ध रहेको बताइन्। तिनको दिगो र अधिकतम प्रयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि, साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ