राष्ट्र बैंकका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा, अख्तियारद्वारा थप तीन मुद्दा दायर
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
649
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अधिकारीले घुस लिएको आयोगको आरोप छ।
पहिलो मुद्दा: भुसाल हस्पिटालिटीसँगको प्रकरण
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६५ रुपैयाँ बराबरको ऋण लिनका लागि तत्कालीन अध्यक्ष डा. अधिकारीले १९ लाख रुपैयाँ घुस लिएको पाइएको छ। ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा अङ्कित भुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको अनुसन्धानबाट खुलेको छ। ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरू लक्की भनिने खुस नसिब अन्सारीसमेतको मिलेमतोमा २०८१ भदौ ३ गते फरकफरक व्यक्तिमार्फत ७ लाख र १२ लाख रुपैयाँ बराबरको रकम चेकमार्फत लिएको पाइएको छ।
आयोगले तत्कालीन अध्यक्ष डा. अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध समान बिगो माग दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
दोस्रो र तेस्रो मुद्दा: अन्य घुस प्रकरण
नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आँबुखैरेनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग ५० लाख रुपैयाँ घुस माग गरेको पनि पाइएको छ। यसमा आयोगले डा. अधिकारीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ। नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारीविरुद्ध पनि समान ५० लाख रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरिएको छ।
यसैगरी, आयोगले डा. अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ। काठमाडौँ महानगरपालिका–३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालिको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५ लाख रुपैयाँ घुस लिएको पाइएको छ। आयोगले डा. अधिकारी र रमेश आचार्यविरुद्ध ५ लाख रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै यो तेस्रो मुद्दा दायर गरेको हो।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा इञ्जिनियर कोइरीविरुद्ध मुद्दा
आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध पनि मुद्दा दायर गरेको छ। आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि विसं २०७८ फागुन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो। सो अवधिमा कोइरीको वैध आय ३ करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ रहेको थियो।
तर, कोइरीले ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको छ। आयोगले गरेको परीक्षणबाट ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ। इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती मालाकुमारी महतोका नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ। आयोगले इञ्जिनियर रामबाबु र उनकी श्रीमती मालाकुमारीविरुद्ध बिगोबमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ।