समितिमा चित्रबहादुर केसीको प्रश्न - पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
519
Shares
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएका आधारमा गैरआवासीय नेपाली (एनआरएन) हरूलाई वंशजको नागरिकता दिन नहुने धारणा व्यक्त गरेका छन्। उनले नागरिकताको समस्या नेपालमा अत्यन्त जटिल रहेको र यसमा संसद्मा मतदान हुनुपर्ने बताए।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले नेपालमा खुला सीमाका कारण भारतबाट मात्र नभई उत्तर, दक्षिणलगायत विभिन्न देशबाट मानिसहरूको लर्को लाग्ने गरेको बताए। उनको भनाइ थियो, "हाम्रो पार्टीले के भन्दै आएको हो भने आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो।"
गैरआवासीय नेपालीहरूलाई सांस्कृतिक तथा आर्थिक अधिकार दिए पनि त्यो मात्र पर्याप्त नभएको भन्दै उनीहरूलाई वंशजको नागरिकता दिँदा देश स्विट्जरल्यान्डजस्तो हुने भन्ने तर्कमाथि केसीले प्रश्न उठाए। "पैसा कमाएका कारणले नागरिकता पाइन्छ? वंशजको नागरिकता पाइन्छ? त्यसो भए त धेरैले लिन्थे नि," उनले प्रश्न गरे।
उनले ब्रिटिश गोर्खाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने बताए। राणाकालमा भएको सम्झौताको निरन्तरताका आधारमा पनि दुईतिर नागरिकता लिन पाइन्छ भन्नेमा उनले प्रश्न उठाए। "संसदमा भोटिङ हुनुपर्छ यसबारेमा। मेरो एउटै भोट पर्ला फरक पर्दैन। विलौना सुनेपछि मन पगाल्ने काम नगरौँ," केसीले भने।
अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरकालाई ल्याएर नागरिकता दिने कुरा राम्रो नहुने पनि बताए।