arrow

मध्यपूर्वमा द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएपछि इरानको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
america-iran.jpg

काठमाडौँ । इरानले मध्यपूर्वमा द्वन्द्व भड्किएमा उक्त क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाउने कडा चेतावनी दिएको छ। यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएपछि आएको हो।

ट्रम्पले आफ्नो पहिलो कार्यकाल (सन् २०१८) मा त्याग गरेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को आणविक सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गत अप्रिलदेखि तेहरान र वाशिङ्गटनबीच पाँच चरणको वार्ता भएको छ।

गत जनवरीमा सत्तामा फर्केपछि ट्रम्पले तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियानलाई पुनर्जीवित गर्दै आणविक कूटनीतिलाई समर्थन गर्नुभएको छ, तर असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी पनि दिनुभएको छ।

इरानका रक्षामन्त्री अजीज नासिर जादेहले अमेरिकी सैन्य कारबाहीको चेतावनीको जवाफमा भनेका छन्, “उसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तीसम्म पहुँच छ, र बिना कुनै हिचकिचाहट हामी अमेरिकाले सेल्टर बनाइ बसेका देशहरूमा रहेका सबै आधार शिबिरलाई निशाना बनाउनेछौँ।” उनले थपे, “भगवानको कृपाका कारण विवाद त्यो बिन्दुमा पुग्ने छैनन् र वार्ता सफल हुनेछ।” जादेहले यदि अमेरिकी पक्ष द्वन्द्वमा आएमा ‘थप क्षति बेहोर्नुपर्नेछ’ भन्ने चेतावनी पनि दिएका छन्।

संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडाहरू छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ। इरान र संयुक्त राज्य अमेरिकाबीच हालै इरानको युरेनियम संवद्र्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ। तेहरानले यसलाई ‘सम्झौता गर्न नसकिने’ अधिकारको रूपमा बचाउ गरेको छ भने वाशिङ्गटनले यसलाई ‘सम्झौताका लागि अन्तिम सीमा’ को रूपमा बताएको छ।

ट्रम्पले गत महिना खाडी भ्रमणका क्रममा सम्झौताको नजिक पुगेको भन्दै वार्ताप्रति वाशिङ्गटन आशावादी रहेको बताएका थिए। तर, बुधबार प्रकाशित एक अन्तर्वार्तामा ट्रम्पले तेहरानलाई युरेनियम संवद्र्धन गर्नबाट रोक्न सकिन्छ कि भन्ने प्रश्नको जवाफमा अमेरिका र इरानबीच सम्झौता हुनेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ