arrow

नेपाल–अमेरिका व्यापार बढाउन अमेरिकी प्रत्यक्ष वैदेशिक लगानी आवश्यक- डा.खतिवडा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
yubraj-khatiwada-29.jpg

काठमाडौँ। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकासँगको वैदेशिक व्यापार बढाउन नेपालमा अमेरिकी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) थप आकर्षण गर्नुपर्ने बताएका छन्।

नेपाल गार्मेन्ट एशोसिएशन, नेपाल–यूएसए चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री र नेपाल कार्पेट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनद्वारा बुधबार संयुक्त रूपमा आयोजित ‘नेपाल–अमेरिका व्यापारः अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन्।

उनका अनुसार अमेरिकी प्रत्यक्ष वैदेशिक लगानीले नेपाली उत्पादनहरूको मूल्य श्रृंखलालाई बलियो बनाउँछ, जसले निर्यातमा नयाँ उचाइ दिनुका साथै आधुनिक प्रविधि पनि भित्र्याउँछ। यसले नेपाली उत्पादनहरूलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सघाउ पुग्ने उनको भनाइ छ।

डा. खतिवडाले नेपालले अमेरिकासँग द्विपक्षीय लगानी सम्झौता (बीआईटी) गरेर व्यापार सम्बन्ध अघि बढाउन सके धेरै लाभ लिन सकिने बताए। भविष्यमा लगानी बढ्दै जाँदा कर सम्झौता (डीटीए) को आवश्यकता परेमा पनि नेपालले त्यसलाई अघि बढाउन सक्नुपर्ने उनको भनाइ छ।

"युएससँगको ट्रेड प्रबर्द्धन गर्ने र ट्रेड मार्केट खोज्ने हो भने युएसको एफडीआई प्रमोट गर्नैपर्छ," खतिवडाले भने, "एफडीआई प्रमोट गर्दा भ्यालु चेन्जको इफेक्टबाट निर्यात बढ्ने भो। एफडीआईसँगै टेक्नोलोजी समेत आउने भो। ट्रेड कम्पिटिटिभनेस पनि हाम्रो बढ्ने भो। युएससँग बाइल्याटरल इन्भेष्टमेन्ट (बीआईटी) मा हामी गयौँ भने त्यो ट्रेड रिलेसनबाट पाउने एडभान्टेज हामी लिन सक्छौँ। त्यो भोलि लगानी बढाउँदै जाँदा डीटीए गर्नुपर्छ भने पनि त्यो पनि हामी अघि बढाउन सक्नुपर्छ।"

नेपालले आफ्नो द्विपक्षीय व्यापार सम्बन्ध गैर-पारस्परिक हुनुपर्ने तर्क गर्दै डा. खतिवडाले नेपाल अल्पविकसित देशबाट विकासशील देशमा उन्नति गर्न लागेकाले अमेरिका र अन्य ठूला व्यापारिक साझेदारहरूलाई नेपालको अवस्था र नेपालबाट निर्यात हुने वस्तुहरूको लागि अनुकूल व्यवहारको आवश्यकताबारे विश्वस्त पार्नुपर्ने बताए।

उनका अनुसार अमेरिकासहित विश्वका विभिन्न मुलुकमा व्यापार गर्न मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले कालोसूचीमा राखेकाले चुनौती थपेको छ। एफएटीएफले दिएका सुझावहरूलाई प्रभावकारी रूपमा लागू गरेर मुलुकलाई छिटोभन्दा छिटो ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने खतिवडाको भनाइ छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ