नागरिकता किर्तेमा मेयर सिंह विरुद्धको रिटमा उच्चले दियो आदेश
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ असार २ सोमबार
1.5k
Shares
तस्बिर – फाइल ।
पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा अनुसन्धानमा ढिलाइ भएको भन्दै दायर भएको परमादेश रिटमाथि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जिल्ला प्रहरी कार्यालय पर्सालाई हालसम्मको अनुसन्धान विवरण पेश गर्न आदेश दिएको छ।
लियाकत अलीले मेयर सिंहले अर्काकी छोरीलाई आफ्नी छोरीको रुपमा देखाई झुटो विवरणमार्फत नागरिकता दिलाएको आरोपसहित २०८० साल फागुन २४ गते पर्सा प्रहरीमा जाहेरी दिएका थिए ।
लामो समयसम्म पनि अनुसन्धान प्रक्रिया निष्कर्षमा नपुगेको भन्दै लियाकतले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
यस विषयमा सोमबार न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र हरिराज कार्कीको संयुक्त इजलासले मुद्दा दर्ता भई हालसम्म के–कति अनुसन्धान भएको हो भन्नेबारे स्पष्ट विवरण माग गर्दै आदेश जारी गरेको हो ।
अदालतले जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला सरकारी वकिल कार्यालय र प्रहरी उपरीक्षकलाई विपक्षी बनाई दायर भएको उक्त रिटमा अनुसन्धानको प्रगति प्रतिवेदन नियमानुसार पेश गर्न निर्देशन दिएको हो ।
पर्सा प्रहरीको प्रारम्भिक लिखित जवाफमा अनुसन्धान भइरहेको उल्लेख भए पनि अदालतले ठोस प्रगति विवरण माग गर्दै थप चासो देखाएको छ।